जनताको नजरमा प्रधानमन्त्री ओली युगपुरुष : पूर्व उद्योगमन्त्री बस्नेत

mahesh-basnetभक्तपुर, १५ साउन । पूर्वउद्योगमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई युगपुरुषको सङ्ज्ञा दिनुभएको छ ।

आज युवा सङ्घ नेपाल भक्तपुर नगर कमिटीले आयोजना गरेको बृहत् युवा भेला एवम् युवा पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले जनताको नजरमा प्रधानमन्त्री ओली युगपुरुष भएको बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सरकार छाड्ने बेलासम्म पनि नेपालको राष्ट्रियतालाई विदेशीसामु झुक्न नदिएको र छोटो अवधिमा पनि जनताको पक्षमा कार्यक्रम ल्याएको भन्दै युग पुरुषको सङ्ज्ञा दिनुभएको हो ।

उहाँले भन्नुभयो–“भारतीय नाकाबन्दीको सामना गर्दैै आमनागरिकको मनमनमा राष्ट्रियताको भावना जागृत गराउने वर्तमान सरकारले जनमुखी बजेट र कार्यक्रम ल्याउँदै चीनसँगको उपलब्धिमूलक सम्झौता गर्न सफल व्यक्ति प्रधानमन्त्री ओली अहिलेका युगपुरुष हुन् ।”

निर्वाचन र संविधान कार्यान्वयनमा अग्रसरता लिएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकार छाडेर अविश्वास प्रस्ताव दर्ता गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई इतिहासले माफ नगर्ने उहाँको भनाइ थियो ।