एनआरएन र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बीच छलफल

लन्डन । एनआरएन र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बीच आज काठमाडौमा छलफल भएको छ । एनआरएनले नेपालको लगानी प्रवद्र्धनका लागि रु १० अर्बको लगानी कोष स्थापना गर्न लागेको विषयमा छलफल भएको हो ।

छलफलका क्रममा संघका अध्यक्ष भवन भट्टले भौतिक पूर्वाधारको विकास र लगानी प्रवद्र्धनका लागि कोष स्थापना र परिचालन गर्न लागिएको जानकारी दिए । कोषको स्थापनाका लागि सरकारका निकायसँग छलफल जारी रहेको उल्लेख गर्दै अध्यक्ष भट्टले अब कुरा होइन काम गर्ने समय आएको बताए ।

एनआरएनले गोरखा भूकम्पबाट क्षतिग्रस्त ‘लाप्राक नमूना वस्ती’ निर्माण गरिरहेको छ । कुल ३२७ घरको पुनः निर्माणको काम अगाडि बढेको सो अवसरमा जानकारी दिइएको थियो । एनआरएनका प्रवक्ता भूषण घिमिरेले एनआरएनले हालसम्म गर्दै आएका गतिविधिका बारेमा सो अवसरमा जानकारी गराएका थिए ।

एनआरएनले बागमती किनाराको शंखमुल क्षेत्रमा ३२ रोपनी जग्गामा उद्यान निर्माण गरिरहेको छ । सो परियोजनाको निर्माण लागत करिब दुई करोड २५ लाख अनुमान गरिएको छ ।