
काठमाडौं– नेपालको संविधान २०७२ आज जारी हुँदैछ । राष्ट्रपति रामवरण यादवले अपरान्ह ५ बजे संविधानसभा भवन नयाँ वानेश्वरमा हुने विषेश समारोहकाबीच नयाँ संविधान जारी गर्दैछन् ।
सो समारोहका लागि संविधानसभा परिसर बेहुली झैं सिंगारिएको छ भने सम्पूर्ण तयारी पनि पूरा भइसकेको छ ।
संविधान घोषणासँगै शान्ति, समृद्धि र अग्रगामी विकासको यात्रामा मुलुकलाई अग्रसर गराउने आजको ऐतिहासिक दिनले नेपालको राजनीतिक इतिहासमा नयाँ युगको यात्रा थाल्दैछ र लामो राजनीतिक सङ्क्रमणको अन्त्य पनि हुँदैछ ।
कतिपय पक्षहरुको विरोधका बाबजुतपनि नेपाली जनता संविधानको व्यग्र प्रतिक्षामा छन् । व्यग्र प्रतिक्षा यो मानेमा छन् कि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न संविधानसभाबाट औपचारिक घोषणासँगै लागू हुने ‘नेपालको संविधान, २०७२ ’ले मुलुकको राजनीतिक स्थायित्व र विकासको यात्रालाई नयाँ युगतर्फ डोर्याउनेछ ।
‘एक जुगका एकचोटी ’संविधानसभाबाट संविधान जारी हुन लाग्दै लाग्दा संविधानसभा परिसर अहिले झकिझकाउ पारिएको छ भने सुरक्षा सहितको सम्पूर्ण व्यवस्थापन चुस्त पारिएको छ ।
राष्ट्रिय भन्डा, रङ्गीचङ्गी ध्वजापताका र बेलुनले संविधानसभा परिसर सजिसजाउ देखिएको छ । समारोहमा विशिष्ट व्यक्तिको आगमनको क्रम सुरु भएको छ ।
अहिले ऐतिहासिक घटनाका प्रत्यक्ष समाचार सम्प्रेषणका लागि नेपाल टेलिभिजन, रेडियो नेपाललगायत राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरु खटिएका छन् भने सभासद् र पूर्वसभासद् तस्बिर खिचाउन व्यस्त देखिएका छन्










