काठमाडौं, मंसिर २७– उद्यमशील युवाहरुको सक्रियतामा झण्डै एक वर्षअघि गठन भएको नागरिक समुहले त्यसयता निरन्तर राष्ट्रियस्तरमा अभियान चलाउँदै आएको छ । समुहले ‘रोगी र बुढा नेतालाई आराम गराउँदै युवा राजनीति आउनुपर्छ’ भन्ने देखि संविधान निर्माण, देश विकास र भ्रष्टाचार न्यूनिकरणका लागि समेत नागरिक सचेतना अभियान संचालन गर्दै आएको छ । समुहका संयोजक निगम हुमागाईँले समुहले संविधान निर्माण, स्थानिय निकायको निर्वाचन तथा भ्रष्टाचारमुक्त समाजको निर्माणका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी दिँदै विभिन्न तह, तप्का र क्षेत्रका विज्ञ तथा प्रतिनिधिहरुसँग समुहले छलफल, अन्तरक्रिया तथा दवावमूलक अभियानहरु सञ्चालन गर्दै आएको बताए । समुह मुख्यगरी संविधान निर्माण, विकास, दिगो शान्ति तथा भ्रष्टाचार मुक्त समाजको लागि केन्द्रीत रहेको उनको भनाई छ । देशमा लोकतन्त्र स्थापनापछि पनि शान्ति र विकासको अनुभव राम्ररी गर्न नपाएको, दैनिक युवाहरु विदेश पलायन हुने क्रम बढिरहेको, भ्रष्टाचार मौलाउँदै गएको तथा स्थानिय निकायको निर्वाचन नहुँदा स्थानिय तहमा जनताले सरकारी कामकाजका लागि सास्ती व्यहोर्नु परेको भन्दै गुनासाहरु बढ्न थालेपछि नागरिक समुहले जनताका समस्यालाई सम्बोधन गर्न र राजनीतिक दलहरुलाई सकारात्मक दवाव दिन अभियान थालेको हुमागाईंले बताए । कसरी सुरु भयो नागरिक समुहको अभियान ? नागरिक समुहलाई नागरिक समाजको रुपमा बुझ्नेहरुको जमात ठूलै छ । कुनै एनजिओ वा आईएनजीओको सहयोगमा संचालित अभियानको रुपमा त सरकारी तवरबाट पनि बुझ्ने गरेको अनुभव सुनाउँछन् समुहका प्रवक्ता जयराम सिग्देल । तर, नागरिक समुहले राष्ट्रिय स्तरमा नै ठूलाठूला अन्तरक्रिया संचालन गरिसकेको छ भने, देश विकासमा युवाहरुको भूमिका भन्दै विभिन्न रुपमा युवाहरुलाई संगठित गर्ने काम गरिरहेको छ, जुन समुहकै सदस्यहरुको बलबुतामा चलिरहेको सिग्देल बताउँछन् । यसैगरी कुनै राजनीतिक दल वा कुनै संगठनसँग आवद्ध भएर काम गरिएको संगठन पनि नभएको संयोजक हुमागाईं बताउँछन् । उनी भन्छन् –देशलाई माया गर्ने र देश विकासप्रति समर्पित हरेक व्यक्ति नागरिक समुहमा आउन सक्छन्, तर व्यक्तिगत स्वार्थ बोकेर आउनु भएन ।
सीमित युवाहरु मिलेर अभियानको रुपमा संचालन गरिएको यो समुहले देशका विभिन्न स्थानमा भ्रष्टाचार, अशिक्षा, वेरोजगारीका विषयमा सम्बन्धित क्षेत्रका व्यक्तिहरुसँग भेटघाट गरि त्यसको न्यूनिकरणका लागि कार्यहरु गर्दै आएको छ । यो अभियानका रुपमा संचालित रहेकाले राष्ट्रियतासँग जोडिएका विषयमा समुहले योजनावद्ध भएर काम गर्ने तथा देशका लागि केहि गर्ने मनसाय बोकेका सबैलाई समेट्ने योजनासहित समुह लागिरहेको छ । नागरिक समुहले एक महिनाभित्र राष्ट्रिय स्तरको सामाजिक विषयको कार्यक्रम गर्ने समेत तय गरेको छ । देशको विकासका लागि राजनीति स्वस्थ हुनु पर्ने तथा त्यसका लागि युवाहरुलाई स्थान दिईनु पर्नेमा समुहले जोड दिने अभियानका सदस्य शोभा गिरीले जानकारी दिईन् । उनले राजनीतिसँगै हरेक क्षेत्रमा विकास हुनुपर्ने र महिला सशक्तिकरणका लागि पनि युवाहरुलाई परिचालन गर्नुपर्ने बताईन् । अबको योजना नागरिक समुह अभियानका रुपमा संचालन गर्दै ७५ जिल्लासम्म पु¥याउने यसको लक्ष्य रहेको समुहले बताएको छ । जसका लागि स्थानिय स्तरमा स्थानिय जनताहरुसँगको सहकार्यमा पे्ररित रहने विश्वास समुहको छ ।
जसका लागि कुनै पनि क्षेत्रमा हुने विकास निर्माण र परियोजना कार्यान्वयनका लागि गरिने छनौट प्रक्रियामा नागरिक समुहको पनि प्रतिनिधित्व गराउने, जिल्ला स्तरमा हुने बजेट विनियोजनमा नागरिक समुहको उपस्थिती हुने तथा सामाजिक उत्तरदायित्वका कामहरुमा सक्रिय रुपमा युवाहरुसँग वा स्थानिय क्लब, वडा, गाविस, क्षेत्र, नगरसँगको सहकार्यमा काम गर्ने समुहको कार्ययोजना छ । राष्ट्रिय स्तरमा नागरिक समुहले ६० वर्षभन्दा बढी उमेरका नेताहरुलाई आरामका लागि विश्राम गराउने तथा नीति निर्माणका तहमा सल्लाहकारका रुपमा रहन अनुरोध गर्ने जस्ता विषय उठान गर्ने नागरिक समुहको कार्ययोजना तय भएको छ । यस्तै राजनीतिमा युवाहरुलाई सक्रिय बनाउन लागि स्वस्थ राजनीति गर्नका लागि विद्यार्थी संगठनहरुसँग सहकार्य गरिने योजना बनाएको समुहले जनाएको छ । देशमा दीगो शान्ति नहुँदा युवाहरु विदेशीने क्रम बढ्दो छ, संविधान निर्माण हुन नसक्दा संक्रमणको फाईदा विभिन्न तत्वहरुले लिईरहेका छन्, युवाहरुमा एकातिर नैराश्यता छाएको छ भने अर्कोतिर स्वदेशमा केहि गर्न सकिन्न भन्ने भान परिरहेको छ ।
स्थानिय निकाय जनप्रतिनिधिविहिन हुँदा विकासका ठोस कामहरु हुन सकेका छैनन् । यो अवस्था लामो समयसम्म रहे देशले निकास नपाउने ठहर समुहको छ । नागरिक समुहले देश विकास तथा संविधान निर्माणका लागि अभियान संचालन गरिरहँदा यस्ता अभियान संचालन गर्ने संघसंस्थाहरु बीचैमा कमजोर नभएका पनि होईनन् । यस्तै खालका अन्य संघसंस्थाहरुले पनि दवावमूलक कार्यहरु गर्दै आएका छन्, तर बीचैमा ती कार्यक्रमहरु अलपत्र पनि पर्ने गरेका छन् । नागरिक समुहको यो अभियान बीचैमा रोकिने होकी अथवा परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेल्न सक्छ यो भने हेर्न बाँकी नै छ ।






