लन्डन । लन्डनस्थित नेपाली दूतावासमा नेपालका पर्यटन व्यवसायी र बेलायतका ट्राभल अपरेटरबीच पर्यटन प्रवर्द्धन तथा व्यावसायिक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजित ‘नेपाल इभिनिङ’ औपचारिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको आयोजनामा बुधबार साँझ कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कार्यवाहक राजदूत विपिन दुवाडीले नेपाल र बेलायतबीचको पर्यटन सम्बन्धलाई थप सुदृढ बनाउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले बेलायतका ट्राभल तथा टुर अपरेटरहरूलाई नेपालको पर्यटन सम्भावना, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक पर्यटनबारे जानकारी गराउँदै नेपाल भ्रमणका लागि बेलायती पर्यटकलाई प्रोत्साहित गर्न आग्रह गरेका थिए।
कार्यक्रममा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गणेश) प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
विश्वकै प्रतिष्ठित पर्यटन व्यापार मेला ‘वर्ल्ड ट्राभल मार्केट (डब्लूटीएम) लन्डन’ मा सहभागी हुन बेलायत आएका मन्त्री पौडेलको उपस्थितिले कार्यक्रमलाई थप महत्त्वपूर्ण बनाएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपाललाई विश्व पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेपाल–बेलायत संसदीय समूहका अध्यक्ष मनीष झाको विशेष उपस्थिति थियो।उनले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा पर्यटनका सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा थप प्रभावकारी रूपमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका थिए।
सो अवसरमा नेपाल पर्यटन बोर्डका निर्देशक सन्तोष पन्तले नेपालको पर्यटन सम्भावना, प्रमुख पर्यटकीय गन्तव्य तथा पर्यटन प्रवर्द्धनका अवसरबारे प्रस्तुतीकरण दिएका थिए।
उनले बेलायतको पर्यटन बजारमा नेपालको पहिचान र आकर्षणलाई थप विस्तार गर्न पर्यटन व्यवसायी तथा ट्राभल अपरेटरबीच सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।
दूतावासका द्वितीय सचिव सञ्जोग राईले सञ्चालन गरेको कार्यक्रममा बेलायतका ३३ वटा ट्राभल तथा ट्रेकिङ एजेन्सीका प्रतिनिधिहरूको सहभागिता थियो। साथै बेलायतस्थित नेपाली समुदायका प्रतिनिधि, पर्यटन तथा ट्रेकिङ व्यवसायी, सञ्चारकर्मी, समाजसेवी, विभिन्न व्यावसायिक क्षेत्रका प्रतिनिधि तथा विशिष्ट अतिथिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमले नेपाल र बेलायतका पर्यटन व्यवसायीबीच प्रत्यक्ष सम्पर्क, अनुभव आदानप्रदान तथा व्यावसायिक सम्बन्ध विस्तारका लागि महत्त्वपूर्ण अवसर प्रदान गरेको छ। विशेषगरी बेलायती पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने र दुई देशबीच पर्यटन क्षेत्रमा सहकार्य बढाउने विषयमा कार्यक्रम केन्द्रित रहेको थियो।
नेपालको पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राखेर आयोजित ‘नेपाल इभिनिङ’ र बुद्ध मूर्ति स्थापनाले बेलायतमा नेपालको पर्यटन, संस्कृति तथा पहिचानलाई थप उजागर गरेको छ।
दूतावास परिसरमा भगवान् बुद्धको मूर्ति स्थापना
यसैबीच, लन्डनस्थित नेपाली दूतावास परिसरमा भगवान् गौतम बुद्धको मूर्ति स्थापना गरिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोग तथा बुद्ध फाउन्डेसन यूकेको सक्रियतामा मूर्ति स्थापना गरिएको हो।
मूर्ति स्थापना कार्यक्रममा पर्यटनमन्त्री खडकराज पौडेल, सांसद मनीष झा, कार्यवाहक राजदूत विपिन दुवाडीसहित विभिन्न व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रममा पण्डित निलहरि घिमिरेले स्वस्ति वाचन गरेका थिए।








