लन्डन — तमुधिं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङद्वारा निर्मित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ बेलायतका विभिन्न शहरहरूमा प्रदर्शन हुने भएको छ। बेलायतमा सेप्टेम्बर १२ मा बेलायतको अल्डरसटमा स्थित प्रिन्सेस हलमा भव्य प्रिमियर सहित प्रदर्शन गरिने तयारी गरिएको छ।
निर्माता मीनप्रसाद गुरुङले बेलायतवासी नेपाली समुदायलाई फिल्म हेर्न उपस्थित हुन आग्रह गर्दै कार्यक्रमको समयबारे जानकारी दिएका छन्। उनका अनुसार, १२ सेप्टेम्बरका दिन दिउँसो २:३० बजेसम्म हलमा उपस्थित भइदिन अनुरोध गरिएको छ। सोही समयमा नायिका गौमाया गुरुङ तथा नेपालबाट आउने कलाकार पशुपति राईलाई विशेष स्वागत गरिनेछ भने ठीक ३:०० बजेबाट फिल्म प्रदर्शन सुरु हुनेछ।
माओत्से गुरुङको निर्देशनमा बनेको ‘पेन्सन पट्टा’मा प्रेम, त्याग र आत्मसम्मानको भावनात्मक कथा प्रस्तुत गरिएको छ। पारिवारिक कथावस्तुमा आधारित यस चलचित्रले दर्शकलाई अन्त्यसम्म बाँधिराख्ने विश्वास निर्माता गुरुङले व्यक्त गरेका छन्।
फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, स्वर्गीय सुनिल थापा, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्कर गुरुङ, मनिका गुरुङलगायत कलाकारहरूको सशक्त अभिनय रहेको छ। प्रिमियर शोका दिन बेलायतमा गौमाया गुरुङ र पशुपति राईको विशेष उपस्थिति रहनेछ।
टिकट शुल्क साधारणतर्फ २० पाउण्ड र भिआइपीतर्फ ५० पाउण्ड निर्धारण गरिएको छ। साथै, सेप्टेम्बर १९ मा साउथ–इस्ट लन्डनको प्लमस्टिड र सेप्टेम्बर २७ मा ननिटनमा पनि फिल्म प्रदर्शन हुने तय भइसकेको छ।
चलचित्रले बोकेको प्रेम, त्याग र आत्मसम्मानको सन्देशका कारण तमुधिं लन्डन इकाइका पूर्व अध्यक्ष डेभिड गुरुङले समेत सबैलाई फिल्म हेरेर साथ दिन आग्रह गरेका छन्।






