पूर्व डेपुटी मेयर मसुद खलिलद्वारा म्याक्वारी फिल्ड्सबाट उम्मेदवारी घोषणा

सिड्नी । क्याम्बेलटाउन सिटी काउन्सिलका पूर्व डेपुटी मेयर तथा वर्तमान काउन्सिलर मसुद खलिलले आगामी न्यू साउथ वेल्स राज्य निर्वाचनमा म्याक्वारी फिल्ड्स निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।पश्चिमी सिड्नीको मिन्टोस्थित रोन मुर कम्युनिटी सेन्टरमा शनिबार, ५ सेप्टेम्बर २०२६ मा आयोजित विशेष कार्यक्रममा खलिलले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका हुन्। आगामी एनएसडब्ल्यू राज्य निर्वाचन मार्च २०२७ मा हुने अपेक्षा गरिएको छ।

बंगलादेशी मूलका खलिल क्याम्बेलटाउन क्षेत्रमा लामो समयदेखि स्थानीय राजनीतिमा सक्रिय छन्। उनी क्याम्बेलटाउन सिटी काउन्सिलमा निर्वाचित स्वतन्त्र काउन्सिलरका रूपमा काम गर्दै आएका छन् भने यसअघि काउन्सिलको डेपुटी मेयरसमेत निर्वाचित भएका थिए। उनी अष्ट्रेलियामा सिटी काउन्सिलको डेपुटी मेयर पदमा निर्वाचित हुने पहिलो बंगलादेशी–अष्ट्रेलियाली भएको बताइएको छ।

खलिलले स्थानीय तहमा रहँदा नागरिक सेवा, स्थानीय पूर्वाधार तथा समुदायका अधिकार र आवश्यकताका विषयमा काम गर्दै आएको उल्लेख गर्दै अब राज्यस्तरमा समुदायको आवाज पुर्‍याउने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्। उनले आफू कुनै प्रमुख राजनीतिक दलको उम्मेदवार नभई स्वतन्त्र उम्मेदवारका रूपमा कम्युनिटी भ्वाइस अफ अष्ट्रेलियाको समर्थनमा चुनावी मैदानमा उत्रिएको बताए।

उम्मेदवारी घोषणा कार्यक्रममा विभिन्न समुदायका अगुवा, राजनीतिक तथा धार्मिक प्रतिनिधि, व्यवसायी, पेशाकर्मी तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली समुदायको समेत उल्लेखनीय सहभागिता रहेको थियो। एनआरएनए अष्ट्रेलियाका पूर्व उपाध्यक्ष तथा नेपाली समुदायका अगुवा देव गुरुङलगायत विभिन्न सामाजिक तथा सामुदायिक क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको कार्यक्रममा खलिलले नेपाली समुदायलाई समेत विशेष रूपमा सम्बोधन गरेका थिए।

कार्यक्रममा उपस्थित विभिन्न बहुसांस्कृतिक समुदायका प्रतिनिधिहरूले स्थानीय तहमा खलिलले पुर्‍याएको योगदान तथा समुदायसँगको निरन्तर सम्बन्धको प्रशंसा गरेका थिए। क्याम्बेलटाउन क्षेत्र अष्ट्रेलियाकै बहुसांस्कृतिक समुदायमध्ये एक महत्वपूर्ण क्षेत्र भएकाले विभिन्न समुदायबीच सहकार्य र प्रतिनिधित्वलाई उनले आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण पक्षका रूपमा अघि सारेका छन्।

कार्यक्रममा खलिललाई क्याम्बेलटाउन सिटी काउन्सिलका उनका सहकर्मी तथा काउन्सिलर खालिद हलाबीले परिचय गराएका थिए। हलाबीले खलिल स्थानीय समुदायका सरोकार र नागरिक सेवाका विषयमा लामो समयदेखि सक्रिय रहेको उल्लेख गर्दै विभिन्न जातीय तथा सांस्कृतिक समुदायबाट उनको समर्थन रहेको बताए।उम्मेदवारी घोषणा गर्दै खलिलले अष्ट्रेलियाको राजनीतिमा लामो समयदेखि दुई प्रमुख राजनीतिक दलको प्रभाव रहेको उल्लेख गर्दै मतदाताको समर्थनलाई स्वाभाविक रूपमा लिने प्रवृत्तिका कारण कतिपय सार्वजनिक सेवाका विषय प्राथमिकतामा नपरेको धारणा व्यक्त गरे। निर्वाचित भएमा राजनीतिक संस्कृतिमा परिवर्तन ल्याउँदै स्थानीय तथा ग्रासरुट समुदायलाई आवश्यक सेवामा अधिकतम पहुँच सुनिश्चित गर्न आफूले काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

खलिलको उम्मेदवारीलाई उनको स्थानीय राजनीतिक यात्राबाट राज्यस्तरीय राजनीतितर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। बंगलादेशी मूलका समुदायबाट अष्ट्रेलियाको राज्य संसदमा निर्वाचित हुने पहिलो प्रतिनिधि बन्ने लक्ष्यसहित उनी चुनावी मैदानमा उत्रिएका छन्। यसअघि बंगलादेशी मूलका उम्मेदवारहरूले विभिन्न प्रमुख राजनीतिक दलबाट राज्य संसदको निर्वाचनमा प्रतिस्पर्धा गरे पनि अहिलेसम्म कोही निर्वाचित हुन नसकेको स्रोतमा उल्लेख छ।म्याक्वारी फिल्ड्स क्षेत्रबाट हुने आगामी निर्वाचनमा प्रमुख राजनीतिक दलका उम्मेदवारसँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेका खलिलले स्थानीय सरकारमा हासिल गरेको अनुभवलाई राज्य संसदमा उपयोग गर्दै समुदायका आवाज र आवश्यकतालाई अझ प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *