लण्डन — तमुधीं लण्डन इकाई आमा समूहले आगामी सेप्टेम्बर १२ गते आयोजना गर्ने तय भएको हरितालिका तीज कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ। इकाईका अध्यक्ष भरत गुरुङको अध्यक्षतामा बसेको आकस्मिक भर्चुअल जुम बैठकले उक्त निर्णय गरेको हो।
बैठकले नेपालमा हालै रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपहिरोबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै देश शोकमा रहेको अवस्थामा कुनै पनि मनोरञ्जनात्मक कार्यक्रम गर्नु उपयुक्त नहुने निष्कर्ष निकालेको जनाएको छ। सोही मानवीय संवेदनालाई मध्यनजर गर्दै सेप्टेम्बर १३ गतेका लागि सारिएको कार्यक्रमसमेत पूर्ण रूपमा स्थगित गरिएको आमा समूहकी अध्यक्ष देवकला गुरुङ तथा कार्यक्रम संयोजक एवं वरिष्ठ उपाध्यक्ष बिनु गुरुङले जानकारी दिएका छन्।
त्यसैगरी, बैठकले बाढीपीडितहरूको राहत तथा सहयोगका लागि तमुधीं यूकेले घोषणा गरेको सहयोग अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्दै आर्थिक सहयोग गर्ने निर्णयसमेत गरेको छ। निर्णयअनुसार तमुधीं लण्डन इकाईबाट £1000 र आमा समूहबाट थप £1000 गरी जम्मा गरी २ हजार पाउण्ड (४ लाख नेपाली रुपिया )प्रधान मन्त्री राहात कोस मार्फत सहयोग प्रदान गरिने महासचिव विकास रक गुरुङले जानकारी दिए।
भर्चुअल बैठकमा इकाईका पदाधिकारी, ट्रष्टिज तथा पूर्व अध्यक्षहरू दीपक गुरुङ (डेविड), निवर्तमान अध्यक्ष विष्णु गुरुङ, तमुधीं यूकेकी उपाध्यक्ष एवं ट्रष्टी दिलमाया गुरुङ, आमा समूहकी निवर्तमान अध्यक्ष कमला गुरुङ, सांस्कृतिक सचिव तथा पूर्व कोषाध्यक्ष कुमार गुरुङ, सल्लाहकार शान्तबहादुर गुरुङ, धनबहादुर गुरुङ, मिडिया सचिव सुशील गुरुङ लगायतको उपस्थिति रहेको थियो।






