लन्डन दूतावासमा मनाइयो नेपाली सेना दिवस (तस्विरहरु)

शिब भण्डारी

लन्डन।लन्डनस्थित नेपाली दूतावासमा एक विशेष समारोहबीच नेपाली सेना दिवस मनाइएको छ।


नेपाली दूतावासले नेपाली सेनाको २६३ औँ स्थापना दिवसका अवसरमा सोमबार साँझ दूतावास परिसरमा विशेष समारोहको आयोजना गरी सेना दिवस मनाइएको हो।बेलायत सरकार, बेलायती सेना, विभिन्न कूटनीतिक नियोगका  प्रतिनिधि र सैन्य सहचारीहरु एवम् बेलायतस्थित नेपाली समुदायका प्रतिनिधिसमेतको सहभागितामा  सेना दिवस मनाइएको हो।

कार्यक्रममा नेपाल र बेलायत दुवै देशको राष्ट्रिय गान बजाइएपछि औपचारिक कार्यक्रम सुरु गरिएको थियो। सेना दिवसको उपलक्ष्यमा केक समेत काटेर खुशीयाली मनाइएको थियो।

समारोहमा प्रमुख अतिथि बेलायती सेनाका मेजर जनरल कार्ल बोस्वेल सीबीई र कार्यवाहक राजदूत विपिन दुवाडी ले संयुक्त रूपमा दीप प्रज्वलन गरी समारोहको उद्घाटन गरेका थिए।

दूतावासका द्वितिय सचिव संजोग राईले संचालन गरेको कार्यक्रममा लन्डन दूतावासका सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाहले अतिथिहरूलाई स्वागत गर्दै नेपाली सेनाको अनुशासन, समर्पण र पेशागत दक्षताबारे प्रकाश पारेका थिए।

बेलायती सेनाका मेजर जनरल बोस्वेलले २६३औँ स्थापना दिवसको अवसरमा नेपाली सेनालाई बधाई दिँदै यसको इतिहास, अनुशासन र विश्वव्यापी प्रतिष्ठाको खुलेर प्रशंसा गरे।

कार्यक्रममा बोल्दै कार्यवाहक राजदूत दुवाडीले नेपाली सेनाको गौरवपूर्ण इतिहास र राष्ट्रप्रति पुर्‍याएको योगदानको चर्चा गरे।

समारोहमा बेलायतस्थित उच्च सैनिक अधिकारी, विभिन्न देशका रक्षा सहचारी, सरकारी प्रतिनिधि तथा नेपाली समुदायका अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *