ग्रेटर सिड्नी नेपाली मल्टिकल्चरल सेन्टरको कार्यसमिति चयन, अध्यक्षमा विष्णु हमाल

सिड्नी। ‘मिनी नेपाल’ निर्माण गर्ने उद्देश्यसहित स्थापना गरिएको ग्रेटर सिड्नी नेपाली मल्टिकल्चरल सेन्टरको पहिलो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। आइतबार फेब्रुअरी १५ मा अबर्नस्थित ग्राण्ड प्यालेस फङ्सन सेन्टरमा सम्पन्न सभाले विष्णु हमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा उमेश पन्त र देवबहादुर गुरुङ चयन भएका छन्। महासचिवमा डा. प्रकाश पौडेल, कोषाध्यक्षमा प्रकाश वस्ताकोटी र सह–कोषाध्यक्षमा अमृत आचार्य चयन भएका छन्। सदस्यहरूमा बाबु गौतम, प्रतिज्ञा अधिकारी, महेन्द्र लम्साल, लक्ष्मी वस्ताकोटी, मीना शर्मा, पुरुषोत्तम सडौला, कल्याणी वर्तौला, सुदर्शन थापा, सुवान्सु साह, विजय पौडेल उपाध्याय र प्रीति शर्मा रहेका छन्। बाँकी दुई सदस्य भने पछि मनोनयन गरिने जनाइएको छ।

सभामा अध्यक्ष हमालले प्रस्तुत गरेको संस्थाको प्रगति प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो। प्रतिवेदनमा स्थापना पछिका गतिविधि, उपलब्धि, अवसर तथा चुनौती र आगामी कार्ययोजनाबारे उल्लेख गरिएको थियो। हमालले अष्ट्रेलियामा नेपाली कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि ‘मिनी नेपाल’ अवधारणालाई अभियानका रूपमा अघि बढाइएको जानकारी दिएका थिए।

यसैगरी महासचिव डा. प्रकाश पौडेलले वार्षिक गतिविधिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष प्रकाश वस्ताकोटीले आर्थिक विवरण सार्वजनिक गरेका थिए। प्रस्तुत विवरण अनुसार सदस्यता शुल्क र विभिन्न सहयोगमार्फत संस्थाको कोषमा हालसम्म करिब ९ लाख अष्ट्रेलियन डलर संकलन भएको जनाइएको छ। साथै धार्मिक तथा सांस्कृतिक कार्यक्रममार्फत दाताहरूले व्यक्त गरेको प्रतिबद्धताअनुसार उठ्ने रकम संकलन प्रक्रिया जारी रहेको जानकारी दिइएको थियो।

कार्यक्रमका प्रमुख अतिथि न्यू साउथ वेल्सका अवैतनिक वाणिज्यदूत संजिव शर्माले नेपाली समुदायको सांस्कृतिक पहिचान जगेर्ना गर्ने अभियान प्रशंसनीय रहेको बताएका थिए। त्यस्तै अष्ट्रेलियाली राजनीतिक प्रतिनिधिले पनि यस्ता सामुदायिक परियोजनाले बहुसांस्कृतिक समाजमा नेपाली समुदायको पहिचान अझ सशक्त बनाउने धारणा राखेका थिए। कार्यक्रममा सहभागी विभिन्न सामाजिक अगुवा तथा संघसंस्थाका प्रतिनिधिहरूले ‘मिनी नेपाल’ परियोजनालाई सामूहिक प्रयासबाट सफल बनाउनुपर्नेमा जोड दिएका थिए।

नयाँ कार्यसमितिले आगामी चार महिनाभित्र सदस्य संख्या दुई हजार पुर्‍याउने लक्ष्य लिएको छ। साथै स्थानीय सरकारसँग समन्वय गरी यसै वर्ष करिब चार हेक्टर जग्गा खरिद प्रक्रिया अघि बढाउने र ‘मिनी नेपाल’ परियोजनालाई तीव्रता दिने योजना सार्वजनिक गरिएको छ। कार्यक्रममा संस्थालाई सहयोग पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो भने बालबालिकाको सांस्कृतिक प्रस्तुतीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *