लन्डन । लन्डनस्थित केम्पटन पार्क रेस कोर्स मैदान आइतबार ‘मिनी नेपाल’ बन्यो ।
नेपाली मेलामा हजारौं सहभागी भए । नेपाली कला, संस्कृति र परम्परालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाली मेला आइतबार लन्डनको केम्पटन पार्क रेसकोर्समा भव्यताका साथ सम्पन्न भएको छ।
तमुधिं यूकेले ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका साथ लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा १६ औं मेला गरेको हो । मेलामा बेलायतका विभिन्न स्थानबाट आएका करिब १३ हजारभन्दा बढी नेपालीको सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले नेपाल बाहिर यति ठूलो संख्यामा नेपालीहरु भेला भएर उत्सव मनाएको देख्दा आफु अत्यन्तै खुसी भएको बताए।
उनले भूतपूर्व गोर्खाको योगदानले गर्दा नेपाल तथा बेलायतबीचकोस सम्बन्ध अरु सुद्रिढ भएको बताए। उनले नेपाली संस्कृति र सम्पदाको जगेर्ना गर्न तमु धिं युकेले गरिरहेको प्रयासको प्रशंसा पनि गरे।
विशेष अतिथि नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले बेलायत आउँदा नेपालीहरुले आफ्नो पहिचान, संस्कृति र भाषा पनि संगै लिएर आएको र त्यो नेपालले गौरव गर्नु पर्ने विषय भएको बताए।
उनले सगरमाथा, भगवान गौतम बुद्ध र गोर्खाजले नेपाललाई संसार भरि चिनाएको बताउंदै गोर्खा सैनिकहरुको माग जति सक्दो चाडो पुरा गर्न आग्रह पनि गरे। उनले “एक पटकको नेपाली सधैंको नेपाली” भन्ने मूल मर्म अनुरुप वंशजको नागरिकताको निरन्तरताको विषयमा आफ्नो पूर्ण समर्थन रहेको बताए। उनले बत्तीको उज्यालोले मात्रै नभएर नेपालको समग्र क्षेत्रमा उज्यालो लेराउन उज्यालो नेपाल अभियान सुरु गरिएको बताउंदै उक्त अभियानमा साथ र सहयोग दिन आग्रह पनि गरे।
मेला संयोजक तमुधिं यूके उपाध्यक्ष कमल कोने गुरुङले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरे ।
बेलायतस्थित विभिन्न सामाजिक, जातिय तथा धार्मिक संघसंस्थाले प्रस्तुत गरेका मौलिक झांकीले लन्डन मिनी नेपालमा परिणत भएको थियो।
तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रम बेलायतस्थित ४४ नेपाली संघसंस्थाका विभिन्न जातजाती र समुदायलाई प्रतिनिधित्व गर्ने झांकीमा देखिन्थ्यो धार्मिक, सांस्कृतिक र पारम्परिक चित्र । उनीहरुले देखाए मौलिक रहनसहन र भेषभूषा ।
मेलामा तमुहरुको ट्होटे, नेवार जातीको सापारु (गाइजात्रा) अनि खिं, धिमे र धाः बाजामा घिन्ताङ घिसी (लट्ठी जुधाएर गरिने नाच), लिम्बुहरुको हाक्पारे, धान नाच र च्याब्रुङदेखि किरात राईहरुको साकेला प्रमुख आकर्षण बने ।
परम्परागत डोको, नाम्लो, स्याखु, हलो जुवा, सोली बोकेर आएका मगर जातीले देखाए कौरा, सारंगा, थाली, टप्पा र मारुनी ।
पासा पुचः गुथिले ४० जनाको सहभागितामा मौलिक धिमे नाचको उत्कृष्ट प्रस्तुति देखाएको थियो । बन्टओर्क नेपाली समाजका तर्फबाट केयरसिंह गुरुङको संयोजनमा स-साना बालबालिकाले प्रस्तुत गरेको सारंगी र मादलको प्रस्तुतिले पनि धेरैको मन जित्यो ।
मेलामा झांकी र नृत्य दुवैमा उत्कृष्ट भएर पासा पुचः गुथि यूके प्रथम बन्दै ११०० पाउण्डसहित एम्बासडर कप जित्यो भने किरात याक्थुङ चुम्लुङ यूके दोश्रो र किरात राई यायोख्या यूके तृतीय बने ।
उत्कृष्ट झांकीमा मगर संघ यूके प्रथम, पासा पुच गुथि यूके दोश्रो र किरात याक्थुङ चुम्लुङ यूके तृतीय भए । झांकीको निर्णायक मण्डलमा साहित्यकार डा. रुपक श्रेष्ठ, बिएफबिएस गोर्खा रेडियो यूकेका स्टेशन म्यानेजर योगराज राई, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष विमला सेने र अभिनेत्री सृजना सुब्बा थिए ।
त्यसैगरि, उत्कृष्ट सांस्कृतिक नृत्य प्रतियोगितामा ४० जना डान्सरहरुको घिन्ताङ घिसी (लट्ठी जुधाएर गरिने नाच) बाट पासा पुचः गुथि यूके प्रथम भयो भने तनहुं समाज यूके दोश्रो र किरात याक्थुङ चुम्लुङ यूके तृतीय भए । नृत्यको निर्णायक मण्डलमा गुरुङ चलचित्र अभिनेत्रीहरु माया गुरुङ, एन्सर्ज तमु, मोडल सविना गुरुङ, गायक कृष्ण रेउले र कोरियोग्राफर कविता घर्तीमगर गुरुङ थिए ।
आयोजक तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले नेपाली मेलाको १६औं संस्करणलाई ऐतिहासिक रुपमा सम्पन्न गर्न सहयोग पुर्याउने सबैप्रति आभार प्रकट गरे
लन्डनको नेपाली मेला पूर्वदेखि पश्चिमसम्मको नेपालको विविधतापूर्ण संस्कृति एउटै मञ्चमा देख्न पाइने एक मात्र मञ्च बन्न सफल भएकोमा आयोजकलाई गौरव लागेको उनले बताए। बेलायतमा नेपाली कला, संस्कृति तथा परम्परालाई जोगाउने र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने आफूहरुको प्रयासमा साथ दिन अध्यक्ष गुरुङले सिंगो नेपाली समुदायलाई आव्हान गरे ।
मेला संयोजक तमुधिं यूके उपाध्यक्ष कमल गुरुङले स्वागत मन्तव्य दिंदै सहयोगी सबैलाई धन्यवाद दिए । उनले नेपाली मेलामार्फत् विदेशमा हुर्किएको नेपालीको नयाँ पुस्ता र विदेशी समुदायमाझ समेत नेपाली कला, संस्कृति प्रवर्द्धनको लक्ष्य राखिएको बताए ।
कार्यक्रमको औपचारिक सत्र महासचिव डा विशाल गुरुङले सञ्चालन गरका थिए । मेलामा झांकी, नृत्यका विजेता र उल्लेख्य सफलता हासिल गरेका वा योगदान दिएका व्यक्तित्वलाई सम्मान पनि गरियो ।






















