पिटरबोरो समाजद्वारा भुकम्पपिडीतका लागि सहयोग

piterborrg

भरत पाण्डेय
काठमाण्डौ ११ साउन । कामको शिलशिलामा विदेशमा बसेपनि आफ्नो देश दुख्दा त मन दुखाउने नेपालीहरु धेरै छन् जसले आफ्नो जन्मभूमिका लागि सँधै सहयोग गरीरहन्छन् । पिटरबोरो नेपाली समाज यूकेले नेपालका भूकम्पपिडीतको लागि  करिब १७ लाख रुपैयाँ  सहयोग गरेको छ । यसअघि विभीन्न समयमा राहत उपलब्ध गराएको समाजले सोमबार पाँचलाख रुपैयाँ प्रधानमन्त्री दैविप्रकोप उद्धार तथा राहतकोषमा हस्तान्तरण गरेको छ ।
पिटरबोरो नेपाली समाजका अध्यक्ष तथा गुल्मी जिल्ला समाज यूकेका उपाध्यक्ष केशव भण्डारीले प्रधानमन्त्री निवास बालुवाटार पुगी ५ लाख २५ हजार १ सय १ रुपैयाँको बैँक भौचर हस्तारण गरे । रकम हस्तान्तरण गर्दै अध्यक्ष भण्डारीले भुकम्पबाट घरबारबिहीन भएका र आफन्त गुमाएका नेपालीहरुको घाउमा मल्हम लगाउनका लागि आफूहरुले बेलायतको पिटरबोरो र आसपासमा बसोबास गर्ने नेपालीहरु तथा अन्य समुदायबाट उक्त रकम संकलन गरेको बताए । ‘संकलित रकम सहि ठाउँमा उपभोग होस भन्ने हाम्रो अपेक्षा छ ।’–उनले भने । जवाफमा प्रधानमन्त्री कोईरालालले विदेशमा बसेर पनि नेपालका लागि सहयोग जुटाएकोमा धन्यवाद दिँदै सहयोग रकम सहित ठाउँमा सदुपयोग हुने बताए ।
यसअघि पनि समाजका पूर्व अध्यक्ष महेश अधिकारीले सिन्धुपाल्चोक पुगेर ५ लाख बराबरको जस्ता पाता हस्तान्तरण गर्नुभएको थियो भने विभीन्न संघसंस्थासंग मिलेर ७ लाख रुपैया बराबरको राहत सामग्री समेत वितरण गरेको थियो ।
रकम हस्तान्तरण कार्यक्रममा सञ्चारमन्त्री मिनेन्द्र रीजाल, नेपाली जनसम्पर्क समिति बेलायतका अध्यक्ष तथा गुल्मी जिल्ला समाज यूकेका कानुनी सल्लाहकार चेतनाथ खनाल, समाजसेवीहरु झविन्द्र भण्डारी, लुमाकान्त भण्डारी, निर्मल पाण्डे, पत्रकार भरत पाण्डेय, गगनशिला खड्का लगायतको उपस्थिती रहेको थियो ।
भूकम्प पिडीतका लागि आर्थिक संकलन अभियानमा सहयोग गर्ने सबैलाई समाजले धन्यवाद दिएको छ ।