ग्रीसको भविष्यबारे यूरोजोनका अर्थमन्त्रीहरु छलफलमा

greece

आर्थिक संकटमा फसेको यूरोपेली मुलुक ग्रीसलाई थप ऋण दिने/नदिने बारेमा यूरोजोनका नेताहरुले घनिभूत छलफल गर्दै एक प्रस्ताव तयार गरेका छन् ।

ग्रीसले पेस गरेको आर्थिक सुधार प्याकेजमा थप विषय समावेश गराई यूरोजोनका अर्थमन्त्रीहरुले तयार पारेको प्रस्ताव अब यूरोपीय संघका नेताहरुको बैठकमा पेश गरिनेछ। टाट पल्टनबाट रोक्दै यूरोपीय संघबाट बाहिरिन नदिने उपायसहितको प्रस्ताव उनीहरुले तयार गरेका हुन् । यूरोजोनका अर्थ मन्त्रीहरुले दुई दिनसम्मको छलफलपछि तयार पारेको प्रस्तावको ग्रीक सरकारका एक अधिकारीले अत्यन्तै खराब भनेर टिप्पणी गरेका छन् ।

ग्रीक प्रधानमन्त्री एलेक्सिस सिप्रास र उनको वामपन्थी सिरजा सरकारलाई अपमानित गर्ने गरी प्रस्ताव तयार गरिएको टिप्पणी उनको छ । चार पेज लामो प्रस्तावमा पेन्सन र श्रम बजारमा महत्वकांक्षी सुधार, ५० अर्बभन्दा बढीको मूल्यवान सम्पत्ति निजीकरणका लागि ग्रीस तयार रहनुपर्ने छ । दाता मुलुकले ग्रीसमै रहेर मस्यौदा कार्यान्वयन गरिए/नगरिएको अनुगमनसमेत गर्नेछन् ।

प्रधानमन्त्री सिप्रास, जर्मन चान्सलर एञ्जेला मर्केल, फ्रान्सेली राष्ट्रपति फ्राँस्वाँ ओलाण्ड र यूरोपीय परिषदका अध्यक्ष डोनाल्ड टस्कबीच समस्याको समाधान खोज्न दुई/दुई पटक शिखर सम्मेलन रोकिएको थियो । अर्थमन्त्रीहरुले तयार पारेको प्रस्तावमाथि अब २८ देश सम्मिलित युरोपेली संघका नेताहरुले निर्णय गर्ने छन् । –एजेन्सी