लन्डन । बेलायतमा नेपालबाट आएका विशिष्ठ कलाकार र यूकेस्थित नेपाली कलाकारहरुलाई अवार्ड प्रदान गर्दै तेस्रो नेपाली चलचित्र महोत्सव शनिबार सम्पन्न भएको छ ।
थर्ड आइले आयोजना गरेको चलचित्र महोत्सवको लन्डन ग्रीनफोर्ड टाउन हलमा विशेष समारोहबीच समापन गरिएको हो ।
कार्यक्रममा चार नेपाली चलचित्र पुजार सार्की, ज्वाइँसाब, सतीदेवी र हाफ जर्नीलाई उत्कृष्ट चलचित्र अवार्ड प्रदान गरियो । आयोजकका अनुसार नेपाली फिल्म फेस्टिभल यूके २०२५ का लागि विश्वभरबाट आवेदन परेका ३९८ मध्ये ती चलचित्र छानिएका हुन् ।
कलाकारिता क्षेत्रमा तीन दशक बढी समयदेखि क्रियाशील वरिष्ठ कलाकार सन्तोष पन्तलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो ।
नेपालबाट आएका अन्य कलाकारहरु विपना थापा, धिरेन शाक्य, निति शाह, आश्मा विश्वकर्मा, सुवानी मोक्तान, प्रताप दास, एलिस कार्की एवं यूकेमा रहेका कलाकारहरु रितेश चाम्स, निकेश लिम्बु, प्रेम लामा र प्रतीक दूतराज (बेल्जियम)लाई पनि विशेष अवार्ड प्रदान गरिएको थियो ।
चलचित्र र कलाकारहरुलाई कार्यक्रमका प्रमुख अतिथि समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल ओबीई, चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी, एनआरएनए पूर्वअध्यक्ष कुल आचार्य, थर्ड आइका तर्फबाट अध्यक्ष विकास देवकोटा लगायतले प्रमाणपत्र, ट्रफी प्रदान गरेका थिए ।
औपचारिक कार्यक्रममा प्रमुख अतिथि डा. राघवप्रसाद धिताल ओबीईले बेलायतमा नेपाली चलचित्र प्रवर्द्धन, प्रचार प्रसार र बजार विस्तारका लागि थर्ड आइले गरेको महोत्सव सराहनीय कदम भएको बताए ।उनले आयोजक र सम्मानित कलाकारहरुलाई बधाई पनि दिए ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यस खालका इभेन्टले विदेशमा नेपाली चलचित्र प्रवर्द्धन र कलाकारहरुलाई हौसला मिल्ने विश्वास व्यक्त गरे ।
थर्ड आइका अध्यक्ष विकास देवकोटाले नेपाली कला संस्कृति र सिनेमालाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने प्रयासमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । समारवहमा विभिन्न कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए ।
फिल्म महोत्सव आयोजक कमिटीमा विकास देवकोटा, सुनिलबाबु खड्का, ओजेश सिंह, प्रजेश श्रेष्ठ, अनिल बस्नेत, सुवसिंह गुरुङ, रोमियन लिम्बु र प्रशान्त खड्का थिए ।






