सिड्नी । नेपाल आदिवासी जनजाति महासंघ (निम्फा) तथा शेर्पा एसोसिएसन अफ एनएसडब्लुको संयुक्त आयोजनामा विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक सफल आरोहण भएको ७२ औँ वर्ष पुगेको उपलक्ष्यमा अस्ट्रेलियाको सिड्नीमा विविध कार्यक्रम गरि मनाईएको छ । सन् १९५३ मे २९ तारिख तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथामा पाइला राखेका थिए । सोही दिनको स्मरणमा अस्ट्रेलियाको सिड्नी स्थित रातो घरमा विविध कार्यक्रम गरी सगरमाथा दिवस मनाईएको हो ।

कार्यक्रममा हालसम्म सगरमाथा आरोहण गर्दा विभिन्न समयमा स्वर्गारोहण भएका व्यक्तिहरुप्रति श्रद्धासुमन व्यक्त गर्दै दिप्रज्वलन गरिएको थियो । नेपालका लागि मे २९ गौरवको दिन भएकाले नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको निम्फाका निम्फाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । विश्वकै सर्वोच्च शिखर नेपालमा छ भन्ने प्रथमत विश्वमै नेपालको पहिचान स्थापित गर्नु प्रमुख उद्धेश्य रहेको उनको भनाई छ । नेपालको पर्यटन बोर्ड, राजदूतावास लगायतका संघसंस्थाहरुको समेत उपस्थितिमा अझै वृहत कार्यक्रम गर्न पाएको भए यसले अझै महत्व राख्ने उनको धारणा थियो ।

कार्यक्रमका वक्ताहरुले पर्वतारोहण अत्यन्तै महत्वपूर्ण पक्ष रहेको र नेपाल चिनाउन मद्धत पुर्याउने भन्दै सबै क्षेत्रमा प्रचारप्रसारको आवश्यता रहेको औल्याएका थिए । सगरमाथा आरोहण र नेपालको पर्यटन प्रवद्र्धनमा शेर्पा समुदायको योगदानको पनि कार्यक्रममा चर्चा गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवम् न्यू साउथ वेल्स राज्य वाणिज्यदूत सञ्जिव शर्माले नेपाल सगरमाथाको देशको रुपमा विश्वभर परिचित हुनु नै नेपालीका लागि गर्वको विषय भएको बताए । यो दिवस विश्वभर रहेका सगरमाथा आरोही र नेपालीहरु सबैलाई उत्सवको दिन भएको समेत स्पष्ट पारे । अस्ट्रेलियाबाट नै पहिलो पटक सगरमाथा आरोहण गर्ने ग्रेग मार्टिमर ओएएमले सगरमाथा आरोहण गर्दाका अनुभव सुनाउँदै नेपाल प्राकृतिक सौन्दर्यताको उपहार रहेको बताए । शेर्पा एसोसिएसन अफ एनएसडब्लुका अध्यक्ष एके शेर्पाले नेपालको सगरमाथा संगै अन्य पर्वतारोहणमा शेर्पा समुदायको योगदान सदियौँ देखि रहँदै आएको स्मरण गरे । कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्ष नन्द गुरुङ, निम्फा पूर्व अध्यक्ष सुदर्शन थापा मगर, तमु समाज अष्ट्रेलियाका अध्यक्ष हुम्पति गुरुङ, तामाङ समाज सिड्नीका अध्यक्ष बिशाल तामाङ , अष्ट्रेलियन नेपलिज जर्नलिस्ट एशोसिएसनका अध्यक्ष कृष्ण तिवारी सामाजिक अभियन्ता चित्र तुम्बाहाम्फे, लेख गुरुङ, शिव श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू आ आफ्नो बिचार राखेका थिए ।कार्यक्रमको आयोजना काठमाण्डौ ट्राभल्स, बुद्ध ट्राभल्स र एक्टीभ मोरग्रेजले संयुक्त रुपमा गरेका थिए ।






