लन्डन । बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे मंगलबार स्वदेश फर्किएका छन्। नेपाल फर्किँदै गर्दा उनले बुधबार आफ्नो कार्यकक्षको तस्बिरसहित फेसबुकमा लेखेका छन्, ‘गुडबाई, डियर यूके’राजदूत घिमिरेले बेलायतमा नेपाली समुदायले देखाएको निःशर्त र असीमित माया तथा सम्मानका लागि आभार प्रकट गरेका छन् ।
उनलाई विदाइ गर्न कार्यवाहक राजदूत विपिन दुवाडी र दूतावासका सैनिक सहचारी सहायक रथी अनुप शाह हिथ्रो विमानस्थल पुगेका थिए।
प्रधानमन्त्री सुशीला कार्कीले ११ देशमा कार्यरत नेपाली राजदूतलाई यही कात्तिक २० गतेभित्र नेपाल फर्की परराष्ट्र मन्त्रालयमा हाजिर हुन आदेश जारी गरे सँगै घिमिरे स्वदेश फर्किएका हुन्।
पूर्वप्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतकै आदेश विपरीत उनीहरूलाई फिर्ता बोलाउन पत्राचार गरेपछि तरङ्ग पैदा भएको हो ।
सर्वोच्च अदालतले राजदूतहरू फिर्ता नबोलाउन आदेश दिएकै भोलिपल्ट परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी कार्कीले सोमबार ११ राजदूतलाई फिर्ता हुन भनेकी थिइन् ।
राजदूतलाई पठाएको पत्रमा —
“महामहिमज्यूलाई अर्को व्यवस्था नभएसम्मका लागि परराष्ट्र मन्त्रालयमा रही कामकाज गर्ने गरी नेपाल बोलाउने २०८२ कात्तिक १७ मा निर्णय (सम्माननीय प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीस्तरीय) भएको बेहोरा जानकारी एवम् आवश्यक कार्यर्थ अनुरोध छ,” परराष्ट्र मन्त्रालयले सोमबार सम्बन्धित राजदूतलाई पठाएको पत्रमा भनिएको छ ।
घिमिरेले १७ जनवरी २०२५ मा लन्डनस्थित नेपाली दूतावासमा २३औं राजदूतका रूपमा कार्यभार सम्हालेका थिए। सरकारले फिर्ता बोलाएपछि करिब नौ महिनामै उनको कार्यकाल समाप्त भएको हो।
राजदूत घिमिरे नेपाल सरककारको गृह र परराष्ट्र मन्त्रालय जस्ता महत्वपूर्ण निकायहरूमा जिम्मेवारी सम्हालिसकेका अनुभवी व्यक्ति हुन्। लगानी, व्यापार तथा सार्वजनिक नीतिमा दख्खल राख्ने व्यक्ति बेलायतका लागि नेपाली राजदूत हुनुले उनलाई सकरात्मक रुपमा लिइएको थियो।
घिमिरे बेलायतका लागि राजदूत भएपछि उनबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने, आर्थिक तथा साँस्कृतिक सहकार्य बढाउने र बेलायतस्थित नेपाली समुदायका हकहितको प्रवद्र्धन गर्ने धरै अपेक्षा गरिएको थियो।

सरकारले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, संयुक्त राज्य अमेरिका र जापानमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाएको छ।
मन्त्रालयले जारी गरेको पत्रमा सम्बन्धित दूतावासका उपनियोग प्रमुखले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्ने उल्लेख छ।
लन्डनस्थित दूतावासमा उपनियोग प्रमुख रहेका विपिन दुवाडीले बुधबारदेखि औपचारिक रूपमा कार्यवाहक राजदूतका रूपमा काम सुरु गर्ने जनाएका छन्।
दुवाडीका अनुसार अबको प्राथमिकता बेलायती सेनामा सेवा गरेका गोर्खा भूतपूर्व सैनिकको मुद्दालाई अघि बढाउने रहनेछ। उनले यसबारे बेलायती रक्षा मन्त्रालयका पदाधिकारीहरूसँग छलफल जारी रहेको बताए।
कार्यवाहक राजदूत दुवाडीले आउँदो १० तारिखमा स्कटल्याण्डमा घुम्ती कन्सुलर शिविर संचालन हुने जानकारी दिए। यसअघि वेल्स र आयरल्याण्डमा यस्ता शिविर सम्पन्न भइसकेका छन्।






