सिड्नी । नई एकेडेमी अस्ट्रेलियाले प्रत्येक वर्ष प्रदान गर्दै आईरहेको नई अवार्ड यस वर्ष विभिन्न ४ विधामा सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तिहरुलाई प्रदान गरिने भएको छ । एकेडेमीले अगष्ट ३ तारिख बार्दली फंक्सन सेन्टरमा आयोजना गरेको “नई प्राइड अफ द इयर अवार्ड एण्ड कल्चरल फेस्टिभल २०२४ “ समारोहमा उक्त अवार्ड प्रदान गरिने भएको हो । नेपाली कला, संस्कृति, भाषा, साहित्य, बहुसांस्कृतिक सद्भाव लगायतको प्रवद्र्धनका लागि क्रियाशिल संस्थाले प्रत्येक वर्ष अस्ट्रेलियामा रहेर नेपाली समुदायकाबीच विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तिहरुको प्रोत्साहनका लागि उक्त अवार्ड प्रदान गर्दै आईरहेको छ ।
गतवर्ष महिला सशक्तिकरण अन्तर्गत तीन जना महिला व्यक्तिहरुलाई “वोमन अफ द ईयर” मार्फत विशेषगरी महिलाहरुलाई प्रोत्साहन गर्ने गरी उक्त अवार्ड प्रदान गरिएको थियो । यस वर्ष भने ४ वटा क्षेत्रमा समाजमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई उक्त अवार्ड प्रदान गर्न लागिएको नई एकेडेमी अस्ट्रेलिया अध्यक्ष सिमा रोशीले लण्डन नेपाल न्यूज अस्ट्रेलियालाई जानकारी दिईन् । “यस वर्ष महिला र पुरुष दुबैलाई अवार्ड प्रदान गर्दैछौं उनले भनिन्- जसअन्तर्गत मानसिक स्वास्थ्य, संचार , खेलकुद र सामाजिक सेवा जस्ता क्षेत्रमा महत्वपूणर् योगदान पुर्याउदै आएका विशेष व्यक्तिहरुलाई सम्मान गरिनेछ ।” यस वर्ष एकेडेमीले अस्ट्रेलियाको मूलधारमा रहेर अन्तरसांस्कृतिक समाजमा योगदान पुर्याउने अन्य देशका गैर नेपाली अस्ट्रेलियालीलाई पनि सामुदायिक सद्भाव पुरस्कारले सम्मान गर्दैछ । यस बर्ष नइ प्राइड अवार्डतर्फ एकेडेमीले राष्ट्रिय तथा अन्तरास्ट्रिय गरी चित्रकला, भाषा र साहित्य, खेलकुद र सामाजिक सेवा (संस्थातर्फ), मानसिक स्वास्थ्य र सामाजिक सेवा विधामा अवार्ड चयन गरेको छ । साथै एकेडेमीले यस बर्ष अष्ट्रेलियाका मूलधारमा रहेर अन्तरसांस्कृतिक समुदायहरूको हितको लागी योगदान गरीरहेका अन्य देशका सामुदायिक व्यक्तित्वहरुलाइ पनि सम्मान गर्ने कार्यक्रम रहेको कल्चरल नई एकेडेमी अस्ट्रेलिया उपाध्यक्ष तथा कार्यक्रम संयोजक जेनिशा गौतमले जानकारी दिईन् ।
साथै प्रतिष्ठानले सामुदायिक योगदानकर्ताहरूलाई विशेष प्रशंसा पुरस्कारद्वारा सम्मान गर्नेछ । दुई खण्डमा विभाजन गरिएको कार्यक्रममा पहिलो सत्रमा अवार्ड प्रदान र दोश्रो सत्रमा विभिन्न मौलिक सांस्कृतिक कार्यक्रम नृत्य र गीत प्रस्तुत गरिने बताईएको छ । त्यसपश्चात रात्रि भोज र भित्रिदै गरेको महिलाहरुको महान पर्व हरितालिका तीजको स्वागतार्थ महिला महोत्सव (तिज ) मनाउने कार्यक्रम समेत छ । साथै कार्यक्रम संयोजक गौतमले समाजका विभिन्न पक्ष र क्षेत्रलाइ कार्यक्रममा समेट्ने प्रयत्न गरेको भन्दै सम्पूर्ण समाजसेवी, अभियान्ता, व्यवसायिक दाता, सहित एनआरएनए अस्ट्रेलियालाइ आर्थिक साथ र सहयोगको लागि समेत अपिल गरेकी छन् । जनरल सेक्रेटरी तथा डेपुटी कोर्अर्डिनेटर प्रनाव विक्रम थापाका अनुसार कार्यक्रममा १ सय ५० भन्दा बढीको उपस्थिति रहने आयोजकको अनुमान रहेको छ । कार्यक्रममा स्थानीय मेयर, एनआरएनएका पदाधिकारी तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहनेछ ।







