अस्ट्रेलियाको सिड्नीमा मनाईयो २ सय ११ औँ भानु जयन्ती

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा २ सय ११ औँ भानु जयन्ती अन्तरराष्ट्रिय नेपाली साहित्य समाज न्यु साउथ वेल्स च्याप्टर, नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान र तनहुँ समाज अस्ट्रेलियाको संयुक्त आयोजनामा  १५ जुनमा ग्रानभिलको रातोघरमा संयुक्त रुपमा कार्यक्रम गरी मनाएका हुन् । कार्यक्रममा टियूका पूर्व प्राध्यापक प्रो. डाक्टर गार्गी शर्माको प्रमुख आतिथ्यता रहेको थियो भने वरिष्ठ गजलकार प्रो. डाक्टर ज्ञानु वाकर पौडेल, कवि तथा लेखक एलबी क्षेत्री, ईश्वर कंडेल, वरिष्ठ कलाकार ऋद्धिचरण श्रेष्ठ र क्यामल्र्यान काउन्सिलका मेयरको विशिष्ट आतिथ्यता रहेको थियो ।

दिप प्रज्वलन गरेर समुद्घाटन गरिएको कार्यक्रममा तनहुँ समाज अस्ट्रेलियाका अध्यक्ष मेगराज पौडेल, नेपाली कला संस्कृती तथा साहित्य प्रतिष्ठान अध्यक्ष सुजाता बस्नेत के.सी र अन्तराष्ट्रिय साहित्य समाज न्यू साउथ वेल्स राज्यका अध्यक्ष प्रकाश पौडेलको संयुक्त्त  अध्यक्षता रहेको थियो । कार्यक्रममा २५ जना भन्दा बढी कविहरुले कविता वाचन गरेका थिए भने आयोजक दुई संस्था तनहुँ समाज अस्ट्रेलिया र नेपाली कला संस्कृती तथा साहित्य प्रतिष्ठान सिड्नीका कलाकाहरुले नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै कुमारी डान्स समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा कला संस्कृती तथा साहित्यको क्षेत्रमा योगदान पुर्याउँदै आएका दुई जनालाई भानु अवार्डद्धारा सम्मानित गरिएको थियो । जसमध्ये कला संस्कृती तर्फ विजय जंग थापा र साहित्य तर्फ ज्ञानु वार्कर पौडेललाई सम्मानित गरिएको अन्तराष्ट्रिय साहित्य समाज न्यू साउथ वेल्स राज्यका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि गर्गाी शर्मा, प्रकाश पौडेल, मेगराज पौडेल, सुजाता पौडेल, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सांस्कृतिक कार्यक्रममा शव्दमाला र नेपाली कला साहित्य प्रतिष्ठानको आफ्नै नृत्य विद्यालयका विद्यार्थीहरुले नेपाली कला संस्कृती झल्कने गीत संगै नृत्य प्रस्तुत गरेका थिए । जसको संयोजन दिपक सापकोटाले गरेका थिए । भने रिना केसी र स्वंय दिपक सापकोटाले पनि प्रस्तुती दिएको सुजाता बस्नेत केसीले जानकारी दिईन् । कार्यक्रमलाई प्रविन पाठक र सञ्जिव शर्माले विशेष सहयोग गरेका थिए । अस्ट्रेलियामा नेपाली भाषा साहित्य जगेर्ना गर्न लामो समयदेखि काम गर्दै आएकी सुजाता बस्नेत केसीले अहिले ३ वटा संस्थासंग मिलेर काम गर्न पाउँदा निकै खुसी लागेको भन्दै कार्यक्रम उत्कृष्ट भएको प्रतिक्रिया दिईन् ।कार्यक्रममा एन आरएनए अस्ट्रेलियाका पूर्व अध्यक्ष नन्द गुरुङ ,न्यू साउथ वेल्सका पूर्व संयोजक देब,गुरुङ याथुङ चाम्लिङका अध्यक्ष शशी सुब्बा, सामुदायिक अगुवाहरु, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, साहित्यकार लगायतको उपस्थिति रहेको थियो