लन्डन । आगामी जुन २ तारिख आइतबार लन्डन वुल्लीचमा आयोजना हुने बुद्धजयन्ती कार्यक्रम तयारीबारे आयोजक बुद्ध फाउन्डेसन
यूकेले एक पत्रकार सम्मेलन गरि तयारी पुरा भएको जनाएको छ ।
आयोजक बुद्ध फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठसहितका पदाधिकारीहरु टीमले पत्रकार सँग गरेका हुन्।
बुद्धजयन्ती कार्यक्रममा विगतमा जस्तै दूतावास र नेपाल पर्यटन् बोर्डसँग सहकार्य गरिने पक्का गरिएको कार्यक्रम संयोजक एवम् फाउन्डेसन उपाध्यक्ष प्रसुना कंडेलले जानकारी दिइन्।
पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक एवं फाउण्डेशनकी उपाध्यक्ष प्रसुना कंडेलले शान्तिको सन्देश फैलाउने एवं नेपाल र नेपाली कला संस्कृति प्रवर्धन गर्ने उद्देश्य रहेको बताइन् ।
उनले कार्यक्रमलाई लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र पर्यटन मन्त्रालयको समेत सहयोग गर्ने जनाइन् ।
फाउण्डेशन अध्यक्ष दीपक श्रेष्ठले विश्व शान्तिका प्रतीक गौतम बुद्धको जन्मोत्सव विशेष रुपले मनाउन तयारी व्यापक भइरहेको जनाउंदै लुम्बिनीलाई पर्यटक गन्तव्यका रुपमा विकास गर्ने यसको लक्ष्य रहेको पनि प्रष्टयाए ।
नेपाली जहां रहेपनि देशका लागि केही योगदान गर्नुपर्ने दायित्व हुने बताउंदै अध्यक्ष श्रेष्ठले कार्यक्रममा सबैलाई सहभागिता जनाएर सफल बनाइदिन आग्रह गरे ।
श्रेष्ठले लामो भाषण, खादा माला भन्दापनि मनोरन्जन प्रस्तुति बढी हुने बताए । कार्यक्रममा सबै नेपाली संघसंस्थाका प्रतिनिधिलाई आमन्त्रण गरिसकिएको पनि उनले बताए ।
सल्लाहकार एवं रोयल बरो अफ ग्रीनवीचका उपमेयर जीत रानाभाटले आफ्नो ऐतिहासिक बरोमा हुन लागेको बुद्ध जयन्ती कार्यक्रम सफल बनाउन सक्दो सहयोग गर्ने बताउंदै यसले नेपाल पर्यटनलाई प्रवर्धन गर्न मद्दत पुरयाउने आशा पनि व्यक्त गरे ।
फाउण्डेशनका उपाध्यक्ष अर्जुन कटुवालले सञ्चालन गरेको पत्रकार सम्मेलनमा सल्लाहकारहरु विनोद ज्ञवाली र आर के त्रिपाठी, इनास यूके अध्यक्ष सन्जय कंडेल लगायत उपस्थित पत्रकारहरुले आ आफनो सुझाव र जिज्ञासा राखेका थिए ।






