सोनी श्रेष्ठ काभ्रेपलाञ्चोक / काभ्रेपलाञ्चोक जिल्लाको दुई नगरपालिकाको तीन जनामा कोरोना संक्रमण देखिए सँगै समुदायस्तरमा कोरोना फैलिएको आशंका गरिएको छ । काभ्रेको बनेपा नगरपालिका वडा नं। १३ भैंसेपाटीका एक युवा, पनौती नगरपालिका वडा नं। २ कुशादेवीकी एक महिला र पनौती नगरपालिका वडा नं। ९ सुन्थानका एक युवामा कोरोना संक्रमण भएको आज पुष्टी भएको हो ।
भैंसेपाटी निवासी युवा काठमाण्डौ गएर क्वारेन्टाइनमा बस्न नमानेपछी पिसिआर परीक्षणसँगै सहज बनाउने शर्तमा कोरोना परीक्षण गरिएको काभ्रेपलाञ्चोक जिल्ला स्वास्थ्य प्रमुख डा.नरेन्द्रकुमार झाले बताउनुभयो । उनी वैदेशिक रोजगारबाट नफर्किएको र वैदेशिक रोजगारबाट फर्किने अरू कोही कसैको सम्पर्कमा नआएका कारण कोरोना भाइरस समुदायस्तरमा फैलिएको हो कि भन्ने आशंका गर्न थालिएको छ ।
उनी कोरोना संक्रमित भएको आज शुक्रबार मात्र रिपोर्ट आएको हो । सातादिन अघि नै घर पठाइएको उन्लाई घरमा भेट्न आउनेको संख्या बढेको हुनाले उनी कोरोना संक्रमित भएको पुष्टी भएसँगै अब समुदायस्तरमा कोरोना फैलिएको आशंका गर्न थालेको हो ।
यस्तै, १५ दिनअघि कोरियाबाट फर्केको सुन्थानका युवाले कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट बोकेर हिडेको भएपनि विदेशबाट आएर १४ दिन घरमै बसेको बताएका छन् । १५ दिनपछि इपिएस फारम भर्न काठमाण्डौ जाँदा पुरानो रिपोर्ट अमान्य हुने भन्दै पाटन अस्पतालमा पुनस् परीक्षण गराएसँगै कोरोना संक्रमित भएको पुष्टी भएको छ ।
हालसम्म यससँगै काभ्रेपलाञ्चोक जिल्लामा कोरोना संक्रमितको संख्या १८ पुगेको छ भने १० जना निको भएर घर फर्किसकेका छन् ।






