तक्दीर अधिकारी
सिड्नी । अस्ट्रेलियाको मेलवर्न सहरमा ‘नेपाल फेस्टिबल मेलवर्न २०२२’ हुने भएको छ । फेस्टिबलको तैयारी भव्य रुपमा सुरु भएको छ ।
गैर आवासीय नेपाली सघं (एनआरएनए)ले नेपाली मौलिक कला संस्कृतिको प्रवद्र्धन सगैं नेपाली संस्कृति झल्काउने गरी प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको उक्त फेस्टिबल उत्सव यस वर्ष सेप्टेम्बर १० मा फेडरेशन स्क्वायरमा हुँदैछ ।
एनआरएनएको १९-२१ को कार्यकालमा कोरोना महामारीका कारण हुन नसकेको नेपाल फेस्टिबल यसपटक २१-२३ को कार्यकालमा सम्पन्न हुन लागेको हो ।
एनआरएनएको नियमित कार्यक्रम अन्तर्गत अघिल्लो पटक रोकिएको कार्यक्रम यसपटक गर्न लागिएको कार्यक्रमको तैयारी स्वरुप छलफल तथा प्रचार प्रसार सुरु भएको एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा भिक्टोरिया राज्यका कोअर्डिनेटर हरि खड्काले जानकारी दिए ।
नेपाल र नेपाली संस्कृति, कला, भेषभुषा, तथा नेपाली खानाका परिकारहरुलाई प्रचार गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको खड्काले बताए ।
कार्यक्रममा नेपाली झाँकीहरुको साथ नेपाली कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् । २००८ बाट मेलवर्नमा फेस्टिबलको आयोजना गरिँदै आएको छ । लण्डन न्यूज नेपालसगंको कुराकानीमा खड्काले कार्यक्रम सम्पन्न गर्न अन्तरक्रिया सहित सार्वजनिक र प्रचारप्रसारको काम अगाडी बढाईएको बताए ।
त्यस्तै नेपाली सघंसंस्थाका प्रतिनिधि सम्मिलित ५१ जनाको मुल आयोजक समिति विभिन्न व्यक्तित्वहरु सम्मिलित प्रचार प्रसार तथा सुझाव सल्लाह समिति लगायत अन्य विभिन्न २१ वटा उपसमिति बनाएर तैयारीको काम युद्धस्तरमा भईरहेको छ ।
कार्यक्रमको तालिका, पोष्टर सार्वजनिक गर्ने र नेपाली कला संस्कृतिलाई अष्टेलियाका अन्य सहरमा कसरी पुर्याउने भन्ने विषयमा छलफल भएको बताए । उक्त कार्यक्रममा अष्टेलियाकै संस्कृति र अन्य समुदायका व्यक्तिहरुले पनि प्रस्तुती दिनेछन् ।
कार्यक्रम सम्पन्न गर्न ब्लुबेरी रियलस्टेटले टाईटल स्पोन्सरको रुपमा साथ दिएको छ भने फेस्टिबल सञ्चालन गर्न अन्य नेपाली व्यापार व्यवसायहरुले प्रायोजन गरेका छन् । १० प्रतिशत अन्य विभिन्न प्रायोजनबाट आउने अनुमान आयोजकको रहेको छ ।
कार्यक्रममा भिक्टोरियन मेयर एन्ड्र्यु होनाम लगायत मन्त्रीहरु र अन्य माननीयहरु सहित विभिन्न व्यक्तिहरुको उपस्थिति रहने बताईएको छ ।
मेलवर्न सबै ठाउँका लागि केन्द्र पर्ने भएकाले उल्लेख्य दर्शकको उपस्थित हुने आयोजकले अनुमान गरेको छ । अन्य ठाउँमा पनि भएका नेपाल फेस्टिबलका आयोजकहरुको अनुभव समेत आदान प्रदान गरेर उत्कृष्ट कार्यक्रम गर्ने कोशिस गरिएको बताए ।
आयोजकले सम्पूर्णलाई कार्यक्रम भव्य रुपमा सफल बनाउन सहयोग गर्न र उपस्थित भईदिन अनुरोध गरेको छ ।







