पाल्पा । आइतबार पाल्पामा भएको बस दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ज्याउन गुमाउने गुल्मीको चन्द्रकोट गाउँपालिका-८ मजुवाका १५ वर्षीय प्रवेश काफ्ले, गुल्मीकै मुसीकोट नगरपालिका- ७ का ४० वर्षीय लालबहादुर राना कुमाल र रूपन्देहीको देवदह नगरपालिका-७ का ८७ वर्षीया डिलसरी कामी रहेको प्रहरीले जनाएको छ ।
यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिका-२ का ४५ वर्षीय सुरज भन्ने यज्ञबहादुर सोमै, नवलपरासीको बर्दघाट नगरपालिका-९ की २४ वर्षीय पूणर्िमा कामी, बागलुङको बडिगार्ड गाउँपालिका-१० का ५५ वर्षीया यमकली थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।
शव पाल्पा अस्पतालमा राखिएको छ । आफन्त आएपछि पोष्टमार्टम गरेर बुझाउने उनले बताए । बागलुङको बुर्तिबाङबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ५९५२ नम्बरको बस तानसेन रिडी सडकखण्डको रिब्दीकोट गाउँपालिका-२ लघुवामा आइतबार अपराह्न दुर्घटना भएको थियो । बस सडकभन्दा १०० मिटर तल खसेको थियो ।
दुर्घटनामा परी १६ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको डीएसपी थापाले बताए । म्यादीको रूपा गाउँपालिका-२ की ३९ वर्षीय सुमित्रा रोका र रूपन्देहीको देवदह नगरपालिका-७ का ६१ वर्षीय खड्कबहादुर विकको अवस्था गम्भीर रहेको उनले जानकारी दिए ।
घाइते सबैको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ८ जनाको उपचार पछि डिस्चार्ज भएको छ ।






