लन्डन ।बेलायतको क्रियाशिल सामाजिक संस्था ‘गुल्मी जिल्ला समाज यूके’ को सातौं अधिवेशन आगामी मे पहिलो साता हुने भएको छ।
समाजको ५ मे मा हुने अधिवेशनबाट बन्ने नयॉ कार्यसमितिको लागि चार जनाको अध्यक्ष पदमा उम्मेदवारी परेको छ ।
वर्तमान कार्यसमितिका उपाध्यायहरू तारा भट्टराई, बरूण भण्डारी, मन्जु भण्डारी र महासचिव रूद्र थापाले अध्यक्षका लागि उम्मेदवारी दिएका छन् । निर्वाचन समितिले निकालेको कार्यतालिका अनुसार हिजो ५ बजेसम्म योग्यता पुगेका समाजका सदस्यबाट कार्यसमितिका बिभिन्न पदहरूमा उम्मेदवारी आह्वान गरिए अनुसार धेरै पदमा निर्विरोध भए पनि अध्यक्ष र सचिव पदमा आवश्यक भन्दा बढी उम्मेदवारी परेको बुझिएको छ ।
समाजको महत्वपूर्ण पद मानिएको महासचिवमा वर्तमान सचिव महलाल घिमिरेको मात्र उम्मेदवारी परेको छ । एक सचिव पदमा बसन्त खनाल र राधा खरेलको उम्मेदवारी रहेको छ ।
यस अघि समाजका अध्यक्ष वीर बलालको अध्यक्षतामा सम्पन्न बैठकले नयाँ कार्यसमिति निर्वाचनका लागि एक निर्वाचन समिति गठन गरेको हो ।
समाजका सल्लाहाकार फत्त थापा संयोजक र सल्लाहाकारहरू बालजंग अर्याल एवं राजेन्द्र श्रेष्ठ सदस्य रहेको निर्वाचन समितिले समाजको विधान र नियमावली अनुसार निवेदनहरू जाँच गरी यही अप्रिल ५ मा उम्मेदवारहरूको नामावली आधिकारिक रूपमा सार्वजनिक गर्ने जनाएको छ ।
गुल्मी जिल्ला समाज बेलायतका समाजिक संस्थाहरूमा समाजिक कार्यका लागि अग्रणी एवं धेरै सदस्यहरू भएका संस्थाहरू मध्ये पर्ने भएकोले यसको अधिवेशनलाई बेलायतका समाजिक अभियन्ताहरूले चासोको साथ हेर्ने गर्दछन् ।






