विश्व अपाङ्ग दिवसको अवसरमा गुल्मी जिल्ला समाज युकेले प्रत्येक बर्ष बेलायतमा गर्दै आइरहेको च्यारिटी कार्यक्रम यस बर्ष पनि भब्य रुपमा सम्पन्न भएको छ । अन्य सामाजिक कार्यका अलावा गुल्मी जिल्लामा संचालित आशा अपाङ्ग केन्द्रको सहयोगार्थ समाजले बर्षै पिच्छे यस्तो कार्यक्रम गर्दै आइरहेको छ।
संस्थाका अध्यक्ष अर्जुन गौतमको अध्यक्ष्यतामा सम्पन्न छोटो औपचारिक कार्यक्रममा कार्यक्रमका संयोजक फडिन्द्र भट्टराई ले स्वागत मन्तब्य दिएका थिए। बेलायतका लागि कार्यबाहक नेपाली राजदुत तेज बहादुर क्षेत्री, एन आर एन युकेका अध्यक्ष महेन्द्र कंडेल, एन आर एन युकेका महा सचिव आर के त्रिपाठी लगायतले आफ्नो मन्तब्य राख्दै गुल्मी जिल्ला समाज युकेले बर्षेनी गर्दै आइरहेको परोपकारी कार्यको मुक्त कण्ठले प्रसंशा गरेका थिए । बक्ताको रुपमा सल्लाहकार मोति राज भण्डारीले विश्व अपाङ्गता दिवसको सन्दर्भमा चर्चा गरेका थिए भने संस्थापक अध्यक्ष ओम प्रसाद थापाले आशा अपाङ्ग केन्द्रमा संकलित रकमको कसरी सदुपयोग गरिन्छ भन्ने कुरा बताएका थिए।
महासचिव राम गलामी र सचिव शिब भण्डारीले संचालन गरेको औपचारिक कार्यक्रमको समापन गर्दै अध्यक्ष अर्जुन गौतमले सहयोगीहरु प्रति हार्दिक आभार ब्यक्त गरे । समापन पश्चातपनि उपस्थित सल्लाहकार लगाएतको राय यथास्थान बाट लिईदा कार्यक्रम अन्तरक्रिया मुखी बनेको थियो । संस्थापक अध्यक्ष ओम थापाले सोही कार्यक्रमको राफल चिट्ठामा आफुलाई परेको आई फोन आशा अपाङ्ग केन्द्र गुल्मीकी संचालिका गंगा रायमाझीलाई दिने घोषणा गरेका थिए।






