सिड्नी । गैर आवासीय नेपाली संघ एनआरएनए अस्ट्रेलिया अन्तर्गत न्यू साउथ राज्य समितिले अभिभावक वनभोज कार्यक्रम सम्पन्न गरेको छ । २३ मार्च २०२४ शनिवार क्यारिज शेड वार्फ रोड फोरशोर पार्क न्यूकासलमा नेपालदेखि अस्ट्रेलिया भ्रमणमा रहनुभएका अभिभावकहरुका लागि समर्पित वनभोज कार्यक्रम ऐतिहासिक र स्मरणीय बनेको न्यू साउथ राज्य समिति सहसंयोजक तथा कार्यक्रम संयोजक दिपा जोशीले जानकारी दिईन् ।

कार्यक्रम स्थलमा १० देखि ११ बजेसम्म अवतार रेष्टुरेण्ट न्यू कासलमा खाजा खुवाएपछि औपचारिक कार्यक्रम सुरु भएको थियो । कार्यक्रममा एनआरएनए रिजनल कोअर्डिनेटर दिनेश पोखरेल, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, एनएसडब्ल्यू राज्य समिति संयोजक बिनोद कुँवर,सहसंयोजक दिपा जोशी, कल्याण खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रममा नेपाली समाजका अगुवा डा. नारायण प्रधान, ईन्द्रा वन, जित गोपाली, लगायत नेपालबाट आएका अभिभावकहरु र विभिन्न संंघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा पार्कको अवलोकन संगै निशुल्क स्वास्थ्य चेकजाँच, रक्तचाप परिक्षण, मिष्ठान्न भोजन संगै अन्य मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएका छन् ।

अभिभावकहरुको रक्तचाप र सुगरको परिक्षण गरिएको थियो ।रोजी प्रधान नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले अभिभावकहरुलाई विभिन्न स्वास्थ्य परिक्षणसंगै परामर्श समेत दिएको थियो । रोशन घिमिरेले मानसिक स्वास्थ्यका विषयमा जानकारी गराएका थिए भने नेपालमा फोहोरमैला कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि जानकारी प्रदान गरिएको थियो । अन्त्यमा दोहोरी सञ्चालन भएको थियो । कार्यक्रम नारी निकुञ्जकी पूर्व अध्यक्ष प्रतिज्ञा अधिकारीले सञ्चालन गरेकी थिईन् ।






