सिड्नी । अस्ट्रेलियामा हुर्किरहेका नयाँ पुस्ताका बालबालिकाहरुलाई नेपाली भाषा अध्ययन गराउने उद्धेश्य सहित सञ्चालित पाठशाला अस्ट्रेलियाले आफ्नो नयाँ शाखा पेन्चर्स पब्लिक स्कूलमा स्थापना गरेको छ । २५ नोभेम्बरमा नेपलिज पेन्सर्ट कम्युनिटीले पेन्चर्स पब्लिक स्कुलमा नेपाली भाषा कक्षाको समुद्घाटन गरेको कमिटीका अध्यक्ष लक्ष्मण श्रेष्ठले जानकारी दिए ।

दोश्रो पुस्ताका नेपाली बालबालिकाहरुलाई नेपाली परम्परा, संस्कृति, भाषा र कला बारे ज्ञान दिने उद्धेश्य सहित स्कुल स्थापना गरिएको उनको भनाई छ । उक्त नयाँ शाखाबाट प्रत्येक हप्ताको शनिवार बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाली भाषा कक्षा सञ्चालन हुने उपाध्यक्ष तथा पेन्सर्ट पाठशालाका संयोजक सवि सिंङ डंगोलले जानकारी दिए । शाखा उद्घाटन कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल, फेडरल एमपी होरिट डेभिड क्लोमेन, स्टेट एमपी तथा बहुसांस्कृतिक मन्त्री मार्क कोर, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, नेपाली समाजका अगुवा डा. नारायण प्रधान लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा समाजका अगुवा एवम् विभिन्न संघ संस्थाका प्रतिनिधि, शिक्षक विद्यार्थी अभिभावक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत सुचिका न्यूरे र इरा शर्माले सञ्चालन गरेकी थिईन् । २०१४ सालबाट नै नेपाली कक्षा सञ्चालन भईरहेको भएपनि २०१८ मा पुरानो स्कुल विभिन्न कठिनाईका बाबजुद बन्द रहेको थियो । तर नयाँ भवन निर्माण संगै नेपाली कक्षा सञ्चालनमा ल्याईएको बताईएको छ ।






