सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन नजिकिँदै गर्दा उम्मेदवारहरुले आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरिरहेका छन् । यसैबीच महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका डा. ज्ञानेन्द्र रेग्मीले पनि ९ बुँदे चुनावी प्रतिबद्धता सार्वजानिक गरेका छन् । एनआरएनए अस्ट्रेलियाको पूर्व महासचिव रहेका रेग्मी एनआरएनएका विभिन्न गतिबिधिमा विगत १ दशक देखि सक्रिय छन् ।
सिभिल इन्जिनियरिङ्गमा विद्यावारिधी गरेका रेग्मी अस्ट्रेलियन राज्य सरकारको जलस्रोत विभागमा सिनियर इन्जिनियरका रुपमा कार्यरत छन् । एनआरएनएको एक सक्रिय अभियान्ताको परिचय बनाएका रेग्मी सचिव पदका बलिया उम्मेदवार मानिन्छन् । उनी एनआरएनए अस्ट्रेलियाको महासचिव हुँदा कोरोना सक्रंमणको समयमा रिप्रिटेशन फ्लाईटको व्यवस्थापन गर्नुका साथै नेपाल सरकारसंग समेत सहजीकरण गरेका थिए । उनले एनआरएनएमा रहेको संस्थागत भ्रष्टचारलाई बन्द गर्नुपर्ने भन्दै विभिन्न आवाज उठाउँदै आएका छन् ।
यही कारण उनको एनआरएनएको एक खरो नेताको रुपमा परिचित छन् । उनी नेपाली समुदायमा लोकप्रिय छवि बनाएका अभियान्ता हुन् । अस्ट्रेलियामा रहेका नेपालीहरु र नेपाली समुदाय तथा विद्यार्थीहरुका विभिन्न समस्याहरुमा अग्र स्थानमा रहेर सहयोग गर्ने रेग्मीले आफुले एनआरएनएको गरिमालाई अझै उच्च बनाउन उम्मेदवारी दिएको बताउँछन् ।
यी हुन् रेग्मीका चुनावी प्रतिबद्धता
१-‘एक पटकको नेपाली सधैंको नेपाली’ ः विदेशमा बस्ने हामीहरूले खोजेको नेपाली नागरिकताको निरन्तरता हो। यसका लागि नेपाल सरकारसँग निरन्तर लविङ गर्नेछु । अहिले नेपाल सरकारले प्रदान गर्दै आएको एनआरएन नागरिकतालाई उपलब्धीको रुपमा लिदै गैरआवासीय नागरिकता चाँडोभन्दा चाँडो सहज तरिकाले वितरण गर्न नेपाल सरकारका सम्बन्धित सरोकारवाला निकायसँग परामर्श गर्नेछु। तीन पुस्तामा सीमित यो नागरिकताले गैरआवासीय नेपालीको भावनालाई नेपालसँग जोडाउने भन्दा टुटाउने काम गर्छ। नेपालमा लगानी भित्र्याउने भन्दा नेपालबाट लगानी बाहिर्याउने भूमिका खेल्न सक्छ। त्यसैले यो तीन पुस्ते व्यारियर हटाउन नेतृत्वमार्फत तत्कालै पहल गर्नेछु । विकल्पमा तत्काललाई सात पुस्तासम्म पुयाउन आधारसहित कार्यपत्र पेश गरेर नेपाल सरकारसँग लबिङ गर्नेछु । यद्यपि हाम्रो माग नेपाली नागरिकताको निरन्तरता नै हो।
२- गैरआवासीय नेपाली नागरिकता प्राप्त भएपछि अब गैरआवसिय नेपाली संघको उद्देश्यहरु रिभ्यु गरी प्राथमिकतामा राखेर संघको अबको १० वर्षको ठोस कार्यदिशा र योजना बनाउन पहल गर्नेछु ।
३- गैरआवासीय नेपालीहरुलाई नेपालमा सामूहिक लगानी गर्न मनोवल बढाउन नेपाल सरकारका सम्बन्धित निकायसँग सहकार्य गर्दै विभिन्न मोडलका योजना निर्माण गर्नेछु। समृद्ध नेपाल बोलिमा होइन योजना नै बनाएर नेपाल सरकारलाई कार्यपत्र पेश गर्न काम गर्नेछु।
४- ज्ञान, सीपको आदान प्रदान गर्न ठोस कार्यक्रम बनाएर व्यवासायी, बौद्दिक वर्ग र पेशाकर्मीहरुसँग छलफल र सहकार्य गर्नेछु।
५- वर्तमान समयमा आइसीसीका अधिकांश कामहरूलाई एनसीसीहरूले हरेक प्रकारले सहयोग गर्दै आइरहेकोमा आगामी दिनमा आइसीसीले एनसीसीलाई पनि अझ बढी सहयोग गर्ने वातावरणको सिर्जना गर्नेछु । दोहोरो सहकार्यका लागि भूमिका खेल्नेछु ।
६- आइसीसी र एनसीसीको प्रत्यक्ष कम्युनिकेसनको वातावरण बनाउनेछु।
७- विगत केही वर्षदेखि देखिएको एनसीसी र आइसीसीबीचको प्रतिधिनिधि विवाद हटाउन सबै एनसीसीको कार्यसमितिको अभिलेखालय राखेर संगठन पारदर्शी बनाउँदै प्रतिनिधि विवाद सधैको लागि अन्त्य गर्नेछु ।
८- आइसीको योजना अनि कार्यक्रमहरूलाई हरेका एनसीसीसम्म पुर्याउन समन्वयकारी भूमिकामा खेल्नेछु।
९- आइसीसी सचिवको रुपमा महासचिव र अध्यक्षलाई साथ दिँदै समितीमा सकृय भूमिका खेल्नेछु।






