डा.बिनोद श्रेष्ठले दिए एनआरएनए उपाध्यक्ष पदमा उम्मेदवारी

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको ११ औँ महाधिवेशन नजिकिँदै गर्दा विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढेको छ । यसैक्रममा अस्ट्रेलियाका डा. बिनोद श्रेष्ठले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आगामी असौज ३० गतेदेखि काठमाण्डौमा हुने महाधिवेशनमा श्रेष्ठले उपाध्यक्ष पदमा उम्मेदवारी दिने लण्डन नेपाल न्यूजलाई बताए ।

एनआरएनएका पूर्व आईसीसी सदस्य समेत रहेका उनी अस्ट्रेलियामा लामो समयदेखि कार्यरत छन् । एनआरएनएका विभिन्न अभियानमा सक्रियताका साथ सहभागी हुने श्रेष्ठले एनआरएनए भित्रका विभिन्न विकृतीहरुलाई चिर्दै संस्थालाई विशुद्ध सामाजिक संस्थाको रुपमा स्थापित गर्ने उद्धेश्य सहित आफुले उम्मेदवारी दिन लागेको बताए । अस्ट्रेलियामा रहँदा विभिन्न संघ संस्थामा काम गरेको अनुभवसंगै एनआरएनएमा थप नयाँ केही गर्नुपर्छ भन्ने मान्यताले आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ । इन्जिनियरिङ क्षेत्रमा हासिल गरेको ज्ञान सिप विज्ञतालाई थप परिस्कृत र परिमार्जन गर्दै संस्थालाई नयाँ उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास सहित उम्मेदवारी दिएको छु सबैले साथ दिनुहुनेछ भन्ने विश्वास छ उनले भने ।

एनआरएनए अस्ट्रेलियासंगै विभिन्न भुमिकामा रहेर आफुले निरन्तर कार्य गरहेका उनले एनआरएनए अस्ट्रेलियाको ज्ञान, सीप तथा पुँजी हस्तातरण टास्क फोर्सको पहिलो प्रमुख बनेका थिए । एनआरएनए एनसीसी र आईसीसीमा विभिन्न टास्क फोर्स, सल्लाहकार हुँदै उनी २०१९-२१ मा आईसीसी सदस्य रहेका थिए । निर्वाचित भए गैरआवासीय नेपाली संघको विकास र विस्तारसगै थुप्रिएका विसंगतिहरुलाइ पाखा लगाई भविष्यमा अझ प्रभावकारी र सबैको थप अपनत्व हुनेगरि अगाडी बढाउन भूमिका खेल्ने कुरा डा श्रेष्ठले बताए । ईन्जिनियरिङ पेशामा आबद्ध श्रेष्ठ अस्ट्रेलिया सरकारका विभिन्न योजनामा समेत काम गरिसकेका छन् । उनले चार्टड ईन्जिनियर तर्फको अन्तराष्ट्रिय प्रोफेशनल इन्जिनियर अवार्ड समेत प्राप्त गरेका थिए ।