एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः गत नोभेम्बरमा भएको निर्वाचनमा आफूले हारेको स्विकार गरेका छन् । बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा एक भिडियो सन्देश राख्दै उनले जो बाइडन अमेरिकाको राष्ट्रपति बन्ने र आफ्नो ध्यान शान्तिपूर्णरुपमा शक्ति हस्तान्तरण गर्नु रहेको बताए ।
पराजय अस्वीकार्दै निर्वाचन परिणाम उल्ट्याउन गरेका सारा प्रपञ्च विफल भएपछि ट्रम्पले निर्धारित मितिमा सत्ता सुम्पने कबुल गरेका हुन् ।
अमेरिकी संसदसमेतले डेमोक्र्याट उम्मेदवार जो बाइडेनलाई ४६ औं राष्ट्रपतिका रुपमा सत्ता सम्हाल्न औपचारिक अनुमति प्रदान गरेपछि ट्रम्पले बल्ल निर्धारित मिति जनवरी २० मा बाइडनलाई सत्ता सुम्पने बताए ।
संसदले परिणाम प्रमाणित गर्ने दिन आफ्नो हिंस्रक समर्थकको दस्ता उतारेर संसद भवन नै कब्जा गर्ने प्रयास विफल भएपछि एक विज्ञप्ति जारी गर्दै ट्रम्पले २० जनवरीमा शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने कबुल गरे ।
यद्यपि उनले निर्वाचनमा भएको धाँधलीको बारेमा भने आफ्नो भनाइलाई कायमै राखेका छन् ।






