सिड्नी । नेप्लिज पेन्चस कम्युनिटी अष्ट्रेलियाले नयाँ वर्ष वि.स.२०८१ को शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । १३ अप्रिल शनिवार पेन्चस पब्लिक स्कुलमा नयाँ वर्षको स्वागतार्थ उक्त कार्यक्रमको आयोजना गरिएको हो ।कम्युनिटीले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा अस्ट्रेलियाका तीनै तहका सरकारका प्रतिनिधि तथा नेपाली विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको अध्यक्ष लक्ष्मण श्रेष्ठले जानकारी दिए । उनीहरुले एक आपसमा नेपाली नयाँ वर्ष अर्थात विक्रम सवंत्को अवसरमा शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रममा जर्जेज रिभर काउन्सिलका मेयर साम ईल्मियर, स्याडो मिनिस्टर अफ मल्टिकल्चर मार्क कुरे, स्याडो मिनिस्टर डेभिट कोल्मान, मोर्डेल वार्डका काउन्सिलर मिक स्पिनर, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल लगायतको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमकै अवसरमा विभिन्न सामाजिक कर्ममा संलग्न समाजका विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । जसमध्ये फेन्काका पूर्व अध्यक्ष डा. कृष्ण हमाल क्यानबेरा, निवर्तमान न्यू साउथ वेल्स महावाणिज्यदूत दिपक खड्का, डा. नारायण प्रधान र इन्द्रा वन लगायतलाई सम्मान गरिएको थियो भने सिड्नी क्षेत्रमा एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने विनम श्रेष्ठलाई समेत सम्मान गरिएको थियो । त्यस्तै पाठशालामा अध्ययनरत विद्यार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम सहित नेपाली समाजमा योगदान गर्ने पूर्व अग्रजहरुलाई स्मरण गरिएको थियो । कार्यक्रममा सरिना सैजु, नृत्य मण्डलाकी निर्देशक सरिता सिग्देल, एनोरा राज भण्डारी र नोभा राज भण्डारी सहित ५० वर्ष उमेर पुरा गरेका व्यक्तिहरुले समेत सामुहिक नृत्य प्रस्तुत गरेका थिए ।







