नयाँ संविधानप्रति पूर्णसन्तुष्ट छैनौं : बाबुराम

baburam-bhattarai-1-

पोखरा : एमाओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले असार मसान्तभित्र कुनै  हालतमा संविधान जारी हुने दाबी गरेका छन् ।

असारभित्रै संविधान ल्याउन दहलरु तयार भएपनि आफूहरु नयाँ संविधानप्रति पूर्ण सन्तुष्ट भने नरहेको उनका भनाइ थियो ।

‘लोकतन्त्रमा सबैलाई सहमत बनाउन सम्भव छैन,’ शनिवार पोखरामा उनले भने ‘१६ बुँदे सहमतिमा केहीको असन्तुष्टि रहेपनि संविधान जारी हुन्छ ।’

उनले मस्यौदा समितिले तयार गरेको संविधान जनतामा छलफलको लागि लगेर  संविधानसभाले घोषणा गर्ने जानकारी दिए ।

एमाओवादीले समाजवादी संविधान चाहेपनि अहिले आउन लागेको संविधान समावेशी खालको भएकोले आफ्नो पार्टी पूर्ण सन्तुष्ट नरहेको उनले बताए ।

‘लोकतन्त्रमा सबै आफैँले चाहेको जस्तो हुनुपर्छ भनेर सम्भव छैन,’ क्रान्तिकारी पत्रकार संघले पत्रकार रुद्र भट्टलाईलाई गरेको सम्मान समारोहमा नेता भट्टराईले भने ‘त्यसैले नवउदारबादी र समाजबादीबीचको सहमतिमा समावेशी संविधान बन्न लागेको हो ।’

उनले नव उदारवादीले चाहेको व्यक्तिगत स्वतन्त्रता र समाजवादीले चाहेको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेन्टी समावेशी संबिधानमा समेटिने जानकारी दिए ।