काठमाडौं– नेकपा एमालेले पहिलो चरणको स्थानीय तहको निर्वाचनको परिणाम सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ ।
एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थानीय तहको पहिलो चरणको निर्वाचनको प्रारम्भिक नतिजा सन्तोषजनक रहेको प्रतिक्रिया दिएका हुन् ।
उनले पहिलो चरणको स्थानीय तहको निर्वाचनको प्रारम्भिक परिणामले सिंगो पार्टी पंक्तिलाई उत्साहित बनाएको पनि स्पष्ट पारे ।
सचिव भट्टराईले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दावी समेत गरे ।
एमालेले शुक्रबार दिउँसो एक बजेसम्म १ सय ३ वटा स्थानमा जित हासिल गरेको छ ।
सचिव भट्टराईले कतिपय ठाउँमा पार्टी भित्र बलियो एकता नहुँदा पनि निर्वाचनमा पराजय व्यहोर्नु परेको उल्लेख गरे ।
एमालेले दोस्रो चरणको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन पनि सरकारसँग माग गरेको छ ।
पहिलो चरणको निर्वाचनमा सत्तारुढ दलहरुले राज्य शक्तिको दूरुपयोग गरेको निष्कर्ष निकालेको एमालेले दोस्रो चरणको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन सरकारसँग माग गरेको हो । सचिव भट्टराईले दोस्रो चरणको निर्वाचनमा राज्य शक्तिको दुरुपयोग नगर्न पनि सरकार र सत्तारुढ दलहरुसँग माग गरे ।
नेकपा एमालेले दोस्रो चरणको निर्वाचनको तयारीलाई अघि बढाएको जनाएको छ । एमालेले पहिलो चरणको निर्वाचनमा हालसम्मको मत परिणाममा पहिलो स्थान हासिल गरेको छ । एमालेले चार वटा नगरपालिका मध्ये काठमाडौं, पोखरा र भरतपुर महानगरपालिकामा अग्रता कायमै राखेको छ भने ललितपुर महानगरपालिकामा झिनो मत अन्तरले काँग्रेस अघि देखिएको छ ।






