लन्डन नेपाली दूतावासमा विशेष कार्यक्रम सहित मनाइयो राष्ट्रिय दिवस

लन्डन । लन्डनस्थित नेपाली दूतावासमा नेपालको संविधान दिवसको अवसरमा एक विशेष कार्यक्रम सहित राष्ट्रिय दिवस मनाइएको छ।

सो अवसरमा राष्ट्रिय दिवसको शुभकामना आदानप्रदानका साथै नेपाली सांस्कृतिक प्रस्तुतिहरु देखाइएको हो ।

बेलायतकी विदेश राज्यमन्त्री एनी म्यारी ट्रेभल्यान प्रमुख अतिथि रहेको समारोहमा बेलायती संसदका सदस्यहरु, उच्च सरकारी अधिकारीहरु, बेलायतस्थित विभिन्न मुलुकका राजदूत तथा उच्चायुक्तहरु र बेलायतस्थित नेपाली समुदायका अगुवा प्रतिनिधिहरुको सहभागिता थियो।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलायती विदेश राज्यमन्त्री एनी म्यारी ट्रेभल्यानले संविधान दिवसको शुभकामना दिइन् । नेपाल र बेलायतबीचको गहिरो र सुमधुर सम्बन्धको चर्चा गर्दै उनले आगामी दिनमा दुई देशबीच व्यापार, लगानी र जलवायु परिवर्तन जस्ता विश्वव्यापी सरोकारका क्षेत्रमा थप सम्बन्ध बिस्तार हुने आशा पनि व्यक्त गरिन्।

मन्त्री ट्रेभल्यानले दुई देशबीचको मैत्री सन्धि हस्ताक्षरको शताब्दी र बेलायती टोलीको नेतृत्वमा पहिलो सगरमाथा आरोहणको ७०औँ वार्षिकोत्सव नेपाल–बेलायत द्विपक्षीय सम्बन्धका महत्वपूर्ण कोसेढुंगा रहेको बताइन्। उनले दुई देशबीचको जनस्तरको सम्बन्ध बिस्तारमा बेलायती गोर्खाहरूले गरेको योगदानलाई पनि स्मरण गरिन्। कार्यक्रममा बेलायतस्थित नेपाली कलाकारहरुले नेपाली सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य दिंदै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले वर्तमान संविधानको महत्व, यसका मुख्य विशेषता र नेपालको परराष्ट्र नीतिबारे प्रकाश पारेका थिए। पछिल्ला दशकमा नेपालले विभिन्न क्षेत्रमा गरेका प्रगतिबारे जानकारी दिँदै उनले अर्थतन्त्रको पुनर्संरचना र जनताको जीवनस्तर उकास्नेलगायतका संविधानका प्रमुख उद्देश्यहरू हासिल गर्न नेपाल सरकारको प्रयास केन्द्रित रहेको बताए । विश्वभर संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना अभियानलगायत क्षेत्रीय सहयोग प्रवर्द्धन र विश्व शान्तिका लागि नेपालले पुर्‍याएको योगदानबारे पनि उनले जानकारी गराए। 

राजदूत आचार्यले ब्रिटिश गोर्खाहरूको सम्बन्धको जगमा नेपाल र बेलायतबीच ऐतिहासिक सम्बन्ध रहंदै आएको उल्लेख गरे। जुन सम्बन्ध अहिले राजनीतिक, आर्थिक, व्यवसायिक, लगानी, शैक्षिकदेखि जनस्तरसम्म बिस्तार भएको र बेलायतमा नेपाली डायस्पोराको उपस्थिति पनि बढ्दै गएको उनले बताए ।  

यो वर्ष सन् १९२३ को नेपाल–बेलायत मैत्री सन्धिमा हस्ताक्षर भएको शतवार्षिकी रहेको स्मरण गर्दै राजदूत आचार्यले आधुनिक कूटनीतिक सम्बन्धमा नयाँ युगको सुरुवात गर्न सन्धिको महत्वलाई जोड दिए।