सिड्नीमा गजल मुशायरा संस्करण हुँदै

सिड्नी । अस्ट्रेलियामा रहेका गजल प्रेमी र सर्जकहरुले हरेक वर्ष आयोजना गर्दै आएको “गजल मुशायरा” कार्यक्रम यस वर्ष पनि हुने भएको छ । गजल मुशायरा परिवारको आयोजनामा २३ सेप्टेम्बर सिड्नी स्थित सिभिक थियटरमा उक्त कार्यक्रम आयोजना गरिएको छ ।

गजल वाचन, गायन र नृत्यको समिश्रण सहितको ‘गजल मुशायरा’ दिउँसो १: ४५ बजे निर्धारित समयमा सुरु हुनेछ । उक्त कार्यक्रममा अस्ट्रेलिया भरवाट उपस्थित भएका झण्डै ३५ जना नेपाली गजलकारले आफ्नो गजल वाचन गर्ने कार्यक्रम संयोजक एवम् गजलकार जितेन्द्र मल्लले जानकारी दिए । मेलवर्न, ब्रिसबन, तास्मानिया, क्यानवेरा, सिड्नी लगायतका ठाउँमा रहेका गजलकारहरुले आफ्नो गजल बाचन गर्नुका साथै २ जना कलाकारको गजल नृत्य तथा सिड्नीकै चर्चित गायकद्धारा गजल गायन रहने उनले बताए ।

त्यस्तै कार्यक्रममा लोकेन्द्र बञ्जराद्धारा लिखित गजल संग्रह पलक र गजलकार कमल संघर्षको गजल संग्रह खुडी गरी २ वटा पुस्तकको लोकार्पण समेत गरिने बताईएको छ । कार्यक्रमको सम्पूणर् तैयारी अन्तिम चरणमा पुगेको र अब उक्त दिनको प्रतिक्षा रहेको संयोजक मल्लको भनाई छ । यस वर्ष सिड्नीमा आयोजना गरिएको ‘गजल मुशायरा’को तेह्रौँ संस्करण हो । कार्यक्रमलाई ईनोभेटिभ एसोसियट्सले टाईटल स्पोन्सर गरेको छ भने अस्ट्रेलिया स्थित दर्जनौँ सघंसंस्थाले प्रायोजन गरेका छन् ।

गजल मुशायरा परिवारले सन २०१४ देखी मोती जयन्तीको अवसर पारेर अस्ट्रेलियाको सिड्नीबाट शुरु गरेको यो कार्यक्रम हालसम्म अस्ट्रेलियाको बिभिन्न शहर र अस्ट्रेलिया बाहिर मलेशिया र नेपालमा गरी बाह्र वटा सफल संस्करणहरु प्रस्तुत गरेको संस्थापक समेत रहेका मल्लले बताए । गजल मुशायरा कार्यक्रमको अलवा संस्थाले अग्रज गजलकारहरुको सम्मान, नयाँ सर्जकहरुलाई गजल तथा कविता लेखन सम्वन्धी अन्र्तक्रिया कार्यक्रम, मासिक, त्रैमासिक रुपमा साहित्यिक जमघटहरु र अनौपचारीक सुन्ने सुनाउने कार्यक्रमहरुको समेत आयोजना गर्दै आएको छ ।