सिड्नी । अबर्न नेप्लिज कम्युनिटी अस्ट्रेलियाले नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर अबर्न तीज मेला २०२३ आयोजना गर्ने भएको छ । कम्युनिटीले सदाका वर्षहरुमा जस्तै यसवर्ष पनि ९ सेप्टेम्बरमा नेपालका चर्चित राष्ट्रिय कलाकारहरुको साथमा भव्य तीज मेला आयोजना गरेको अबर्न नेप्लिज कम्युनिटीका अध्यक्ष जितेन श्रेष्ठले लण्डन नेपाल न्यूज अस्ट्रेलियालाई जानकारी दिए ।
ग्राण्ड प्यालेस फंक्सन सेन्टर पारामाटामा बेलुकी ५ बजेदेखि सुरु हुने मेलामा नाचगान, रमाईलो मेला संगै नेपाली दिदी बहिनीहरु एकआपसमा भेट भई भातृत्व र सद्भाव आदान प्रदान गर्ने उनले बताए । गोर्खा ज्वेलरीको प्रस्तुतीमा हुने उक्त तीज मेलामा नेपालबाट चर्चित लोक दोहोरी गायक गायिकाहरुको तीज विशेष प्रस्तुती रहनेछ । कार्यक्रममा पछिल्लो समय अत्याधिक रुचाईएकी लोक दोहोरी गायिका शान्ति श्री परियार, गायक खेम सेञ्चुरी, सुनिता बुढा क्षेत्री, नृत्यांगाना सुनिता दान्कुटी लगायतले आफ्नो प्रस्तुती दिनेछन् ।
अस्ट्रेलियामा रहेका नेपाली दिदी बहिनीहरुलाई मातृभूमी प्रतिको स्नेह कायम गर्ने र नेपाली कला संस्कृति एवम् चाडपर्वहरुको प्रवद्र्धन गर्ने उद्धेश्य सहित तीज मेला आयोजना गरिएको कम्युनिटीका सचिव सन्तोष आचार्यले जानकारी दिए । कार्यक्रममा हजारौँ दर्शकको उपस्थिति हुने आयोजकले अनुमान गरेको छ भने कम्बल्याण्ड काउन्सिलका मेयर लिसा लेक , एबर्न प्रहरी उपरीक्षक साइमन ग्लासर, न्यू साउथ वेल्सका महावाणिज्यदूत दिपक खड्का, एनआरएनएका अस्ट्रेलियाका निवर्तमान अध्यक्ष नन्दु गुरुङ, निर्वाचित अध्यक्ष अनिल पोखरेल तथा एनआरएनए एनएसडब्ल्यू राज्य परिषद संयोजक बिनोद कुँवर लगायतका अन्य विशिष्ट व्यक्तिहरुको समेत उपस्थिति रहने उनले बताए ।
कार्यक्रमलाई अस्ट्रेलिया स्थित दर्जन बढी संघसंस्थाले प्रायोजन गरेका छन् ।अबर्न नेप्लिज कम्युनिटीका महासचिव सन्तोष आचार्यले नेपाली संस्कृति बचाईराख्न आयोजना गरिएको कार्यक्रममा सम्पूर्णलाई उपस्थिति भई मनोरञ्जन लिन आग्रह गरेका छन् ।






