सिड्नी । अष्ट्रेलियामा बस्ने नेपालीहरुको जीवनसगं समेटेर तैयार पारिएको चलचित्र ‘पर्पला’ को फर्स्ट लुक पोष्टर सार्वजनिक गरिएको छ ।
लामो समयदेखि अष्ट्रेलिया बसेर नेपाली फिल्मको निर्माण तथा प्रवर्धनमा निरन्तर लागि परेका मनोज अधिकारीले फिल्मको लेखन तथा निर्देशन गरेका छन् ।
थ्रिलर हरर सिनेमा ‘पर्पला’ को निर्माण हलिउड प्राविधिक र नेपाली फिल्मकर्मीको सहकार्यमा गरिएको हो । उक्त फिल्मको सम्पूणर् छायांकन अष्ट्रेलियामा रहेको तथा दोस्रो चरणको छायांकन पनि छिट्टै पुरा गरेर सिनेमालाई बजारमा ल्याउने निर्माण पक्षले बताएको छ ।
निर्माता तथा कलाकार भानु प्रतापले अष्ट्रेलिया बसाइको क्रममा त्यहाँको टिमसंग मिलेर चलचित्र ‘पर्पला’को निर्माण गरेका हुन् । ‘लाल्टिन’ चलचित्रको निर्माणपछी अष्ट्रेलियामानै बसोबास गर्दै आएका प्रतापले यस बिचमा म्युजिक भिडियो, शर्ट मुभी निर्माण साथै नेपाली चलचित्रहरुको अस्ट्रेलियामा प्रदर्शन गर्दै आएका छन ।
त्यस्तै निर्देशन अधिकारीले पनि लामो समयदेखि चलचित्र निर्माण तथा निर्देशन गर्दै आएका छन् । अष्ट्रेलियामा बनेको पहिलो नेपाली चलचित्र ‘ऋतु’ को निर्माण तथा निर्देशन पनि यीनले नै गरेका थिए । अष्ट्रेलिया र नेपालमा बनेका थुप्रै फिल्ममा निर्माताका रुपमा पनि अनुभब बटुलेका उनले अष्ट्रेलियन ( हलिउड) सिनेमा ‘गर्ल एडिक्टेड’ नामक अङ्रेजी सिनेमाको पनि निर्देशन गरेका थिए ।
पर्पला फिल्मका मुख्य अभिनेता पुकार गौतम रहेका छन् । त्यस्तै आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी बेली डान्सरको रुपमा परिचित निखिला बुढाथोकीले नायिकाको भुमिका निर्वाह गरेकी छिन् । भने रोजी पन्तले सहनायिकाको भुमिका निर्वाह गर्ने छिन् ।
पर्पला फिल्ममा अष्ट्रेलियन कलाकार ओल्गा तमराको पनि विशेष भूमिका रहेको छ । यी लगायत १ दर्जन भन्दा बढी अष्ट्रेलियन कलाकारले पनि यस सिनेमामा अभिनय गरेका छन् ।
आरकेएस अस्ट्रेलिया,ओएमजी इन्टरटेन्टमेन्ट र ग्रीन हिल्स इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता भानु प्रताप ढकाल हुन् । अस्ट्रेलियन छायांकार कास्मिर डिक्सनले छायाँकन गरेको चलचित्रको सम्पादन सुरेन्द्र पौडेलले गरेका हुन् । रबिन्द्र कुमार शर्मा,डम्बर बहादुर रसाइली,छबी अधिकारी सरोज कुमार वाइबा निर्माता रहेका छन् । सरस्वती गौतम,शृजना ल्वागुन,भिम राज रसाइली,वचन कुमार मल्ल चलचित्रको सह निर्माता रहेका छन् ।






