प्रेरणादायी कथा देखाउँदै पाईला

 सिड्नी । अस्ट्रेलियामा रहेका नेपालीहरुको प्रेरणादायी कथालाई प्रस्तुत गर्ने गरी कार्यक्रम पाईला सुरुवात भएको छ । विभिन्न प्रतिभा, जीवन संघर्ष परदेश तथा नेपालमा रहेका विभिन्न व्यक्तिहरुको संघर्षशील जीवन यात्रालाई समेट्ने गरी आगमन टिभि अस्ट्रेलियाबाट कार्यक्रम पाईलाको सुरुवात गरिएको हो ।
“कतिपय मानिसहरु भित्र अरुका लागि पनि प्रेरणा बन्न सक्ने कथाहरु लुकिरहेका हुन् सक्छन् जसले भावी पुस्ताका लागि समेत पथप्रदर्शक बन्नका लागि प्रेरणा प्रदान गर्दछ सञ्चालक एलिजा पंगेनीले लण्डन नेपाल न्यूजसंग भनिन् यी सबै कथाहरुलाई समेटने गरी यो कार्यक्रमको सुरुवात गरेका हौँ ।” मानिसहरुले भन्न नसकेको कथालाई उजागर गर्ने र आम मान्छेका भोगाई र कहानीहरुलाई समेट्ने कोशिस रहेको उनको भनाई छ ।
नेपालबाट अस्ट्रेलिया आउँदाको क्षण, भोगाई र संघर्षलाई समेत कार्यक्रमले समेट्ने पंगेनीले जानकारी दिईन् । एउटा तहमा पुगेको मान्छेले अस्ट्रेलियामा आउँदा शुन्य तहबाट सुरु गरेको अवस्थालाई उजागर गर्दै उनीहरुको पहिलेको सफलता समेत प्रस्तुत गरिने बताईएको छ ।
नेपाली मात्रै नभएर अस्ट्रेलियाबाट नेपाल गएर समेत विभिन्न उदाहरण बनेका व्यक्तिहरुको समेत कथा समेटिने उनको भनाई छ । मान्छेहरुले जीवन यात्राको क्रममा गर्नुपरेका पाईलाहरुलाई समेटेर नाम नै पाईला राखिएको उनले बताईन् । मेरो कथा पनि कसैले भनिदिए अथवा लेखिदिए हुन्थ्यो भन्नेहरुको कथा समेट्न आफुहरुले यो कार्यक्रम ल्याएको पाईला समुहको भनाई छ ।