अस्ट्रेलियामा नेपालीले सञ्चालन गरेको डेण्टेड कोड बन्यो उत्कृष्ट आईटी संस्था

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा नेपाली युवाहरुद्धारा सञ्चालित आईटी तालिम प्रदान गर्ने संस्था ‘डेण्टेड कोड’ उत्कृष्ट बनेको छ । नेपाल सहित अन्य विभिन्न देशका विद्यार्थीहरुलाई आईटी सम्बन्धी आवश्यक सीप प्रदान गर्ने र रोजगारीका लागि समेत पहल गर्दै आईरहेको संस्था सिड्नीको रकडेलमा सञ्चालित छ । डेण्टेड कोड सिड्नीको सेन्टजर्ज क्षेत्रको “लोकल विजनेश अवार्ड २०२३” को संस्करण मध्ये उत्कृष्ट शैक्षिक सेवा दिने संस्थाको रुपमा सम्मानित भएको हो । बुधबार आयोजित एक कार्यक्रममा डेण्टेड कोड उक्त अवार्ड सहित सम्मानित भएको हो ।

आफुहरुको सेवा र योगदानको मूल्यांकन स्वरुप संस्थाले अवार्ड जित्न सफल भएको भन्दै डेण्टेड कोडका प्रमुख कार्यकारी प्रेम आचार्यले यसलाई अथक परिश्रम र समाजले गरेको सरहानाका रुपमा बुझेको बताए । उनले समुदायलाई अझै धेरै गर्न बाँकी रहेको भन्दै अष्ट्रेलियामा धेरै माग रहेको सफ्टवेयर डेभेलोपर तथा प्रोग्रामरको भूमिकाका लागी थप जनशक्ति तयार पार्न आफूहरू लागि पर्ने बताए । उनले सन् २०३० सम्ममा अष्ट्रेलियाको नेपाली समुदायलाई आप्रवासीहरू मध्ये आईटीमा सबैभन्दा अग्रणी बनाउन डेण्टेड कोड लागिरहेको बताए । डेण्टेड कोडका बिजनेस डेभेलोपर म्यानेजर मदनमणि अधिकारीले यस्तोे सम्मान अष्ट्रेलियाको व्यवसायिक क्षेत्रबाट पाउनुले डेण्टेड कोडले संचालन गरेको व्यवसायिक सीपमुलक तालिमको सफलतालाई प्रमाणित गरेको बताए ।

अधिकारीले डेण्टेड कोडले नेपाली मात्र नभएर विश्वका अरू देशबाट आएका अन्तर्राष्ट्रिय विद्यार्थीलाई पनि तालिमसँगै अष्ट्रेलियाको आईटी क्षेत्रमा जागिर र करिअर बनाउन सहयोग गरिरहेको जानकारी दिए । अष्ट्रेलियामा आईटीमा सफ्टवेयर तथा प्रोग्रामिङको क्षेत्रमा ठूलो जनशक्तिको माग छ । ‘पीआर र करिअर दुवैको हिसाबले प्रोग्रामिङ पढ्ने र यो क्षेत्रमा जागिर गर्नेहरूलाई अत्यन्त राम्रो अवसर छ’ उनले भने । अष्ट्रेलियाको स्किल कमिशनको प्रक्षेपण अनुसार सन् २०२६ सम्ममा अष्ट्रेलियालाई ४२ हजार भन्दा धेरै सफ्टवेयर ईञ्जिनियर तथा प्रोग्रामरको आवश्यकता पर्दछ ।

अष्ट्रेलियामा रोजगारदाताले नै ‘स्पोन्सर’ गरेर पीआर पाउनेमा सफ्टवेयर ईंजिनियर तथा प्रोग्रामर पहिलो नम्बरमा छन् । आईटीको क्षेत्रमा दिगो र भरपर्दो करिअर बन्ने भएकाले आईटी पढ्ने नेपाली विद्यार्थीको संख्या समेत बढिरहेको छ । डेण्टेड कोडले अष्ट्रेलियाको सिड्नी, क्यानबेराका साथै नेपालमा काठमाण्डौंबाट पनि आईटी तालिम तथा करिअर विकासमा सहयोग पुर्याउदै आएको छ ।