तक्दीर अधिकारी
सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) ओसियना क्षेत्रले आयोजना गर्ने दोस्रो नलेज सम्मेलन न्यूजिल्यान्डको अकल्यान्डमा हुने भएको छ । तयारीबारे सिड्नीमा शनिबार बसेको एनआरएनए पदाधिकारीसहितको बैठकले सम्मेलनबारे विस्तृत जानकारी उपलब्ध गराएको थियो । ओसियाना नलेज सम्मेलन कृषि क्षेत्रमा उपलब्धी भएको प्रविधि र ज्ञानबारे केन्द्रित हुनेछ । सम्मेलनमा प्रस्तुत गरिने कार्यपत्रबारे पनि बैठकमा सहभागीले राखेको जिज्ञासाको उत्तर एनआरएन उपाध्यक्ष मन केसी, ओसियाना संयोजक होमनाथ पाण्डे, महिला संयोजक जानकी रिमाल, पूर्व सल्लाहकार इन्द्र वानले दिएका थिए ।
२९ मेबाट सम्मेलन सुरु हुनेछ भने उक्त दिन फिल्ड भिजिटको कार्यक्रम राखिएको छ । कृषि क्षेत्रमा न्युजिल्याण्डले प्रयोगमा ल्याएको प्रविधि र ज्ञानबारे सहभागीलाई जानकारी गराइने छ भने दोस्रो दिन अर्थात् मे ३० मा बिहान उनीहरु सगरमाथा दिवसमा सहभागी हुनेछन् अपरान्ह र साँझ विज्ञताबारे छलफलमा सहभागी हुनेछन् । त्यस्तै ३१ मेमा ओसियानाको क्षेत्रीय बैठक बस्ने छ भने त्यसपछि पत्रकार सम्मेलन र नलेज सम्मेलन समापन भएको घोषणा गरिने ओसियाना संयोजक पाण्डेले जानकारी दिए ।

सम्मेलन र अभ्यास दुवै गर्न हामीले विज्ञ सम्मेलनका लागि न्यूजिल्यान्डको अकल्यान्डलाई रोजेका हौं, संयोजक पाण्डेले भने, ‘त्यस क्षेत्रमा हाम्रै नेपाली समुदाय कृषि क्षेत्रमा सफल हुनु भएको छ । कृषि, पशुपालन, मौरी पालनलगायतको व्यवसाय हामीले नजिकबाट नियाल्न पाउने छौं । प्याक्ट्रिकल कामका लागि हामीले न्यूजिल्यान्ड छनोट गरेका हौं ।
सम्मेलनमा प्याक्ट्रिकलपछि एउटा कुषि परियोजना तयार गरिनेछ । त्यो परियोजनामा सामूहिक अथवा व्यक्ति लगानीमा आकर्षित हुनसक्छ । आईसीसीको १० अर्बको कोषबाट पनि कृषि परियोजनामा लगानी गर्न सकिनेबारे छलफल हुनेछ, संयोजक पाण्डेले भने, ‘यो कृषि परियोजना सफल भए सबैलाई राम्रो हुन्छ ।’
‘ओसियानामा जस्तै सबै क्षेत्रमा यस्तो नलेज सम्मेलन हुन्छ’, हामीले ओसियनामा आयोजना हुने सम्मेलनलाई अभ्यासका रुपमा अघि बढाउनु पर्ने धारणा एनआरएनए उपाध्यक्ष मन केसीले राखे । यसअघि भएका सम्मेलनले गरेको निर्णय, प्रस्तुत भएका कार्यपत्र कति कार्यान्वयनमा आए भन्नेबारे जानकारी दिँदै उपाध्यक्ष केसीले भने, ‘जसले पहिला एक्सन लिन्छ, उसले गरिखान्छ ।’
सम्मेलन गर्ने र हराउने प्रवृत्तिबाट हामीले के उपलब्ध हासिल गर्न सक्छौं भन्ने प्रश्न गर्दै एनआरएनए उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य परिषद् संयोजक देव गुरुङले भने, ‘कृषि क्षेत्रलाई केन्द्रीत गरेर सम्मेलन आयोजना हुन लागेको सुन्दा मलाई एकदमै खुशी लाग्यो । उपलब्धी हासिल गर्न सकिने सम्मेलन मात्र गरौं ।’
महिला संयोजक जानकी रिमालले उक्त सम्मेलनमा महिलाहरुबाट प्रस्तुत हुने कार्यपत्रबारे जानकारी मागिन । उनले सबै क्षेत्रमा महिलालाई समेट्नुपर्ने बताइन् । जुनसुकै सम्मेलनमा पनि महिलाको सहभागिताबारे आफूले कुरा उठाउँदै आएको उनले बताइन् ।
कार्यक्रममा एनआरएनए सल्लाहकार इन्द्रा वन, उपाध्यक्ष मन केसी, ओसियाना संयोजक होम पाण्डे, एनआरएनए अस्ट्रेलिया संयोजक तथा न्यू साउथ राज्य परिषद् संयोजक देव गुरुङ, कोषाध्यक्ष अनिल पोखरेल, महिला संयोजक जानकी रिमाल ,आइ सि सि सदस्य बसुन्धारा भट्टराई , नारी निकुञ्जकी संयोजक सन्ध्या साह, सचिव सुकृति भट्टलगायत एनआरएन पूर्व र वर्तमान पदाधिकारीको बैठकमा उपस्थिति थियो । कार्यक्रममा एनआरएन न्यू साउथ वेल्सका सचिव दिपक पहारी, सहसचिव तीर्थराज कार्कीलगायत ले जिज्ञासा राखेका थिए ।






