हित काजी गुरुङद्वारा एनआरएन यूके अध्यक्षमा उमेद्वारी दिने घोषणा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको आगामी कार्यकालको अध्यक्ष पदका लागि समाजसेवी हित काजी गुरुङले उमेद्वारी दिने घोषणा गरेका छन् । शनिबार अल्डरसटस्थित सुशी मोटोमा एक कार्यक्रम आयोजना गरी उनले उमेद्वारी घोषणा गरेका हुन् । 

बेलायतको नेपाली समुदायमा छुट्टै पहिचान बनाउन सफल र तमु धिं यूकेको सफल नेतृत्व प्रदान गरिसकेका गुरुङले आफूले बोलेर भन्दा पनि काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे । उनले “बेलायतमा दुई वटा एनआरएन छ भन्ने भ्रम छ तर मैले सधैं एउटा देख्छु” भन्दै सबैको साथ र सहयोगको अपेक्षा गरे । 

उनले एनआरएनए यूकेको सदस्यता लिन समेत अनुरोध गर्दै जुलाई २२ का दिन आफूलाई साथ दिन अनुरोध गरे । 

अन्तराष्ट्रिय पर्वत समाजका संस्थापक अध्यक्ष समेत रहेका समाजसेवा एवं उद्यमी पुरन गिरीको संयोजकत्वमा सम्पन्न उक्त घोषणासभामा एनआरएनए आइसीसी अध्यक्ष कुल आचार्य, ग्रिनवीच वरो काउन्सिलका उपमेयर जीत रानाभाट, नागरिक समाजका बेलायत अध्यक्ष शेरबहादुर सुनार, एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्री, तमु धिं यूकेका अध्यक्ष हरि गुरुङ, सहारा यूके अध्यक्ष लेप्टन कुसाङ गुरुङ,   नेपाल आदिवासी जनजाती महासंघ बेलायतका अध्यक्ष कर्म पहाडीले मञ्चबाट शुभकामना दिएका थिए ।

विभिन्न नेपाली संघसंस्थाका अध्यक्षहरु, आफन्तजन, साथीभाइहरुको समेत बिशेष उपस्थिति रहेको उक्त सभामा सहभागी वक्ताहरुले हित काजी गुरुङ एउटा स्पष्ट वक्ता, निडर, अन्यायका विरुद्ध लड्न सक्ने, बेलायतको एनआरएनलाई एक ढिक्का बनाएर लैजान सक्ने क्षमतावान र नेतृत्वदायी भूमिका खेल्ने सक्ने व्यक्ति भएको बताउँदै आ–आफ्नो क्षेत्रबाट साथ र सहयोग गर्ने विश्वास व्यक्त गरे ।

त्यस्तै, कार्यक्रम संयोजक पुरन गिरीले हित काजी गुरुङको बारेमा बोल्दै उपस्थितिका लागि सबैलाई धन्यवाद दिए । 

स्थानीय रस्मुर वरो काउन्सिलका काउन्सिलर समेत रहेका समाजसेवी जीव बेल्वासेले संचालन गरेको उक्त घोषणा सभामा समाजसेवी डा. विशाल गुरुङले एनआरएनएको अनलाईमार्फत सदस्यता कसरी लिन सकिन्छ भन्नेबारे पावर पोइन्ट प्रिजेन्टेशन दिएका थिए । 

एनआरएनए युकेको आगामी निर्वाचन जुलाई २२ गते सम्पन्न हुदैछ ।