पौडेललाई धेरै भाउ नदिने पक्षमा देउवा, आफ्नै ढंगले मन्त्री पठाउँदै

(From left) Nepali Congress senior leader Sher Bahadur Deuba, acting President Ram Chandra Paudel and General Secretary Krishna Prasad Sitaula at a party meeting, in Kathmandu, on Sunday, February 14, 2016. Photo: RSS

काठमाडौं, भदौ ९ । नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम आज टुंगो लगाउने भएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम नपठाएपछि सभापति शेरबहादुर देउवाले आफ्नै ढंगले नाम चयन गरी सरकारमा पठाउने तयारी गरेका छन् ।

सभापति देउवा शुक्रबार उपचारका लागि सिंगापुर जाने भएकाले आजै मन्त्रीको सपथ गराउने बताइएको छ ।

कांग्रेसको भागमा १३ वटा मन्त्रालय परेकोमा वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्तिमा पाँच मन्त्रालयमा आफूले सिफारिस गरेकाहरुलाई राख्नुपर्ने अडान लिएपछि सभापति देउवा अप्ठ्यारोमा परेका छन् । उनले पौडेललाई चार जना मन्त्रीको नाम सिफारिस गर्न आग्रह गरेका छन् । तर, पौडेलले आफ्नो पक्षबाट पाँच जनालाई मन्त्री नबनाउने भए एकलौटी ढंगले अघि बढ्न सभापति देउवालाई चुनौती दिएका छन् ।

सभापति देउवाले पनि आजसम्म पौडेलले नाम नदिए एकल निर्णय गरेरै भए पनि मन्त्रीहरुलाई सपथ गराउने तयारी शुरु गरेको बताइएको छ ।