हामी सहमतिका बाधक होइनौँ : डा भट्टराई

एकीकृत नेकपा (माओवादी)का वरिष्ठ नेता डा बाबुराम भट्टराईले सहमतिबिना संविधान निर्माण गर्न खोजे मुलुक फेरि द्वन्द्वमा जाने चेतावनी दिनुभएको छ । आज क्रान्तिकारी पत्रकार सङ्घ कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधान निर्माणका लागि सहमति र संवाद आवश्यक भएको बताउनुभयो ।
नेता भट्टराईले १२ बुँदे शान्ति सम्झौता यताका सबै उपलब्धिलाई समेटेर अघिबढे मात्र संविधान जारी हुने बताउँदै काँग्रेस एमालेले प्रक्रियालाई अघि बढाएर संविधान निर्माण प्रक्रियालाई बन्धक बनाएको आरोप लगाउनुभयो ।
उहाँले जनक्रान्ति र आन्दोलनले गरेका उपलब्धिलाई धरापमा पारी २०४७ सालको संविधान ब्युउँझाउन खोजेका कारण ३० दलीय मोर्चा आन्दोलनमा गएको स्पष्ट पार्नुभयो ।
उहाँले प्रधानमन्त्री सुशील कोइरालाले वार्ताका लागि आह्वान गरेको वक्तव्य आन्दोलन तुहाउनका लागि मात्र भएको टिप्पणी गर्दै भन्नुभयो–“हामी वार्ता र सहमतिका लागि बाधक छैनौँ । सहमति पनि भन्ने प्रक्रियाबाट संविधान निर्माण पनि गरौँ भन्ने कुराले वार्ता र संवादको ढोका बन्द गरिएको छ”–नेता भट्टराईको भनाइ थियो ।
सत्तापक्षले तयार गरेको प्रश्नावलीको कुनै अर्थ नरहने बताउँदै उहाँले भन्नुभयो–“त्यो खारेज हुनुपर्छ । वार्ता र सहमतिबिना संविधान बन्न सक्दैन त्यसका लागि सरकार तयार हुनुपर्छ ।”
आन्दोलन परिचालन समिति कैलालीले आयोजना गरेको पहिचानसहितको संविधान निर्माणको चुनौती विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी हुन नेता भट्टराई कैलाली पग्नुभएको हो ।