भूपू ब्रिटिश गोर्खाको त्रिपक्षीय चौंथो वार्ता के भयो ? यसो भन्छन् गोर्खा प्रतिनिधि(भिडियो सहित)

लन्डन । भूतपूर्व ब्रिटिश गोर्खाहरुका माग सम्बोधनका लागि बुधबार चौंथो चरणको त्रिपक्षीय वार्ता भएको छ । लन्डन स्थित बेलायती रक्षा मन्त्रालयमा करिब डेढ घण्टा भएको उक्त वार्तामा समान पेन्सन, वेलफेयर लगायत ‘एजेण्डा’ मा थप छलफल भएको हो ।

वार्तामा नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयका सहसचिव (युरोप अमेरिका डिभिजन) दिलिपकुमार पौडेल, राजदूत ज्ञानचन्द्र आचार्य, नियोग उपप्रमुख रोशन खनाल, सैनिक सहचारी कर्णेल रत्न गोदारसहित गोर्खा संगठनका प्रतिनिधिको सहभागिता थियो ।

बेलायती पक्षको प्रतिनिधित्व गर्दै भेट्रान राज्यमन्त्री डा. एन्ड्रीयू मोरिसन, ब्रिगेड अफ गोर्खाज र अन्य विभिन्न विभागका प्रतिनिधि सहभागी थिए । गोर्खाहरुका तर्फबाट मेजर रिटायर्ड जुद बहादुर गुरुङ, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई र गेसो उपसभापति धर्म तामाङ सहभागी थिए ।

लन्डनस्थित उपनियोग प्रमुख रोशन खनालले वार्ता विगतका बैठकहरुको समिक्षासहित पेन्सन र वेलफेयर मुद्दामा केन्द्रित भएको जनाइन् । ‘वार्ता सकारात्मक भएको मान्नुपर्छ । आउंदो सेप्टेम्बरमा फेरि अर्को वार्ता हुने तय भएको छ’, उनले भनिन्। सेप्टबरमै वार्ता सक्ने आशा गरिएको पनि उनले जनाइन् । दूतावासको विज्ञप्ति-

गोर्खाहरुका तर्फबाट वार्तामा सहभागी गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले आउंदा दिनमा हरेक विषयमा बेग्लाबेग्लै वार्ता गर्ने सहमति भएको बताए । बेलायत र नेपालमा रहेका गोर्खा भेट्रानहरुको औषधोपचार, अन्त्येस्टि लगायत कल्याणकारी प्याकेजमा बेलायत सकारात्मक भएको राईले बताए । राईले राजदूत आचार्यले नेपाल सरकारका तर्फबाट समान पेन्सन र वेलफेयरमा स्पस्ट कुरा राखेको जनाए ।

रिले अनसन हुंदै १३ दिनको भोक हड्ताल बसेपछि गत १९ अगष्ट २०२१ मा बेलायतले त्रिपक्षीय वार्ताका लागि लिखित प्रतिवद्धता व्यक्त गरेको थियो । यसअघि गत २२ मार्च २०१८ मा दुवै सरकार र गोर्खा प्रतिनिधिबीच चरणवद्ध वार्ता गरेर १३ बुंदे प्राविधिक प्रतिवेदन बुझाइएको थियो । तिनै माग पुरा हुनुपर्ने अडान भूतपूर्व गोर्खाहरुको छ ।भिडियोमा हेर्नुस