भुपू गोर्खाहरुको माग सम्बोधन गर्न आग्रह गर्दै एनआरएनए यूकेले प्रधानमन्त्री जोन्सनलाई बुझायो पत्र

लन्डन । बेलायतमा आफ्ना माग सम्बोधन गर्न दबाब दिने उद्धेश्यसहित ११ दिनदेखि अनशनमा बसेका गोर्खाहरुका माग सम्बोधन गर्न आग्रह गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले प्रधानमन्त्री बोरिस जोन्सनलाई पत्र पठाएको छ ।

लामो समयदेखि गोर्खाहरुले आफ्नो माग सम्बोधन गर्न माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै आएपनि नसुनेपछि ११ दिनदेखि प्रधानमन्त्री कार्यालय अघि ज्ञानराज राई, धन गुरुङ र पुष्पा घलेले अनिश्चितकालिन भोक हड्ताल शुरू गरेका छन् ।

उनीहरुका माग सम्बोधन गरी जीवन रक्षाको आग्रह गर्दै एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरले पत्राचार गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।

ज्ञापनपत्रमा गोर्खाहरुको गुनासोहरुबारे बुझ्न र प्राविधिक संयन्त्रको सिफारिश समेतलाई समेट्दै उचित समाधानको सुझावहरु पेश गर्न एक उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ ।

सन् २०१८ मै गठित प्राविधिक समितिले बुझाएको १३ बुँदे प्रतिवेदन कार्यान्वयन गर्न र ब्रिटिश गोर्खा सैनिकहरुको योगदानबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गर्दै नेपाल र ब्रिटेनबीचको दुई सय वर्ष पुरानो सम्बन्धका सेतु रहेका गोर्खा सैनिकहरुको योगदानको उच्च मूल्यांकन गर्न माग गरेका छन् । त्यस्तै समस्या समाधानको लागि नेपाल सरकारसँग तत्काल वार्ता गर्न पनि ब्रिटिश प्रधानमन्त्रीसँग आग्रह गरिएको छ ।

पत्रमा नेपाल तथा बेलायतबीचको लामो मित्रतालाई बलियो र जीवन्त बनाउन गोर्खाहरुकै प्रमुख भूमिका रहेको स्मरण गराइएको छ ।

हेरौँ पत्र: