लण्डनको पशुपतिनाथ मन्दिरमा भव्य बन्यो साउने सोमबार, तीज विशेष कार्यक्रम सेप्टेम्बर ९ मा

लन्डन । लन्डनस्थित पशुपतिनाथ मन्दिरमा साउन महिनाको अन्तिम सोमबार व्रतालुहरुले उल्लासमय रुपमा पूजाआजा गर्दै व्रत समापन गरेका छन् ।

महिनाभर सोमबार व्रत बसेका महिलाहरु यस दिन बिहानैदेखि मन्दिर पुगेर पूजा अराधाना गरेका थिए ।

यसपटक तीन सय बढी महिलाले मन्दिरमा पूजाआजा गरी व्रत समापन गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दासुराम पाण्डेले बताए । उनका अनुसार बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीकी पत्नी चन्द्रा रेग्मी पनि सहभागि भइन् ।

मन्दिरमा बिहानै ७ बजे देखि नै व्रतालु महिलाहरुले पूजाआजा शुरु गरेका थिए । उनीहरुले बिहान १० बजे सामूहिक रुपमा साउनको व्रत समापन विशेष पूजामा भाग लिएका थिए ।

पूजा कार्यक्रमपछि मन्दिर सत्संग समितिको संयोजनमा भजन किर्तन समेत गरिएको थियो । व्रतालुहरुलाई मन्दिर समितिका कोषाध्यक्ष भोजराज कंडेलको समूहले प्रसाद तयार गरी वितरण गरेको थियो ।

मन्दिरका मूल पण्डित निलहरि घिमिरेले पूजा संचालन गरेका थिए ।

यसैबीच, लन्डन पशुपतिनाथ मन्दिरमा आउंदो आइतबार जनैपूर्णिमा तथा रक्षाबन्धन विशेष कार्यक्रम आयोजना हुने भएको छ । बिहान ८ बजेदेखि नै मन्दिरमा जनै तथा डोरो वितरण कार्यक्रम राखिएको छ ।

मन्दिर समितिका अध्यक्ष पाण्डेले जनैपूर्णिमा तथा रक्षाबन्धनमा सहभागी हुन सबै भक्तजनहरुलाई आव्हान गरेका छन् ।

त्यस्तै, पशुपतिनाथ मन्दिरको आयोजनामा वर्षेनी हुँदै आएको तीज विशेष कार्यक्रम सेप्टेम्बर ९ तारिख तीजको दिन आयोजना गरिएको अध्यक्ष पाण्डेले बताए ।

कोभिड महामारीका कारण गत वर्ष मन्दिरमै सिमित गरिएको कार्यक्रम यसपटक भने विगतमा जस्तै प्लमस्टिडको एशियन कम्युनिटी सेन्टरमा गर्ने तयारी छ । गत बर्ष कोभिडले रमाउन नपाएका नेपालीहरु यसपटक बेलायत सरकारले लकडाउन अन्त्य गरेसँगै उल्लासको साथ मनाउने तयारी गरेका छन् ।