चितवन एड ट्रष्ट यूकेले भरतपुरमा गर्र्यो निःशुल्क ६५० को स्वास्थ्य जाँच

लण्डन। चितवन एड ट्रष्ट-यूकेले राइनो क्लब नारायणगढको संयोजनमा भरतपुरमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।

गत २३ बैशाख आइतबार चितवन भरतपुर महानगरपालिका-१६ अन्तरगत पर्ने श्री मावी, ढड्डाघारीमा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ ।

उक्त शिविरमा ६५० जनाले स्वास्थ्य परीक्षण गरे । शिविरमा नेशनल सिटी हस्पिटलका स्त्री रोग बिशेषज्ञ डा. निर्मला लक्ष्मी श्रेष्ठ, हाड तथा नशा रोग विशेषज्ञ डा. सुदिपमान बैध, जनरल फिजिसियन-ग्याष्ट्रो डा. बरूण श्रेष्ठ, मुटुरोग विशेषज्ञ-सर्जन डा. निर्मल लामिछानेद्वारा स्वस्थ्य परीक्षण गराइएको थियो भने आशिर्वाद डेन्टल क्लिनिकका डा आदर्श श्रेष्ठद्वारा दन्त परामर्श लिए ।

उक्त स्वास्थ्य शिविरमा प्रतक्ष रूपमा ६५ जनाले दन्त परिक्षण, ७५ जनाले निःशुल्क चश्मा र २० जनालाई मोतिबिन्दूको शल्यक्रियाका लागि आंखा अस्पताल लगिएको थियो भने अन्यलाई स्वास्थ्य परिक्षण गरि निशुल्क औषधि उपलव्ध गराइएको थियो ।

चितवन एड ट्रष्ट-यूकेका महासचिव रमेश श्रेष्ठले संस्थाको बारेमा परिचय दिदै शिविर सन्चालनका लागि सहयोग गर्ने श्रीमावीका प्रधानाध्यापक गोविन्द प्रसाद सुवेदी एवं शिक्षक-शिक्षिकाहरू, स्यमसेवकहरू सबैलाई धन्यबाद दिए ।

उनले आवश्यक परामर्श र सूचना प्रवाहमा प्रत्यक्ष सहयोग गर्ने  भ.म.न. पा. १६ वडाका गाविस अध्यक्ष अम्रित राज हमाललाई पनि धन्यवाद दिए ।

महासचिव श्रेष्ठले स्वास्थ्य शिविर संचालन गर्न महत्वपूर्ण समन्वयात्मक भूमिका निर्वाह गर्ने राइनो क्लव अफ चितवनका अध्यक्ष भरत श्रेष्ठ एवं टिम सबैलाई धन्यवाद दिंदै उनीहरूको सहयोग विना शिविर संचालन गर्न सम्भव नहुने भन्दै आभार व्यक्त गरेका थिए ।

उनले अति विपन्न, दुखी विरामीहरूको सेवामा निशुल्क सेवा प्रदान गर्न आएका स्वास्थ्यकर्मी तथा आर्थिक सहयोग गर्ने  बेलायत बसोवासरत सम्पूर्ण मनकारीहरूलाई धन्यवाद दिए।


उक्त कार्यक्रममा राइनो क्लव नारायणगढका पूर्व अध्यक्ष बद्रीलाल प्रधान, पूर्व अध्यक्ष पुष्प श्रेष्ठ, पूर्व अध्यक्ष माला श्रेष्ठ, सचिव छॉंया श्रेष्ठ, आजिवन सदश्य शेखर श्रेष्ठ, नेशनल सिटी हस्पिटलका प्रवन्धक विक्रम अधिकारी, समाजसेवीहरू ऋषिराज पाण्डे, रामचन्द्र श्रेष्ठ, शंखकुमार श्रेष्ठ, गोपाल भण्डारीको उपस्थिति थियो ।

कार्यक्रममा बडा अध्यक्ष अम्रित हमाल, राइनो क्लवका संस्थापक अध्यक्ष जयराम श्रेष्ठ, राइनो क्लवका वर्तमान अध्यक्ष भरत श्रेष्ठले मन्तव्य दिएका थिए भने कार्यक्रम संचालन आजिवन सदश्य रोहित श्रेष्ठले गरेका थिए ।


कार्यक्रममा चितवन एड ट्रष्ट यूकेको तर्फबाट संस्थाका अध्यक्ष रितेशराज पाण्डे, पूर्व अध्यक्ष हिमाल गुरूङ र महासचिव रमेश श्रेष्ठले राइनो क्लबका अध्यक्ष भरत श्रेष्ठलाई रू १ लाखको सहयोग रकम हस्तान्तरण गरेका थिए ।

शिविरमा स्थानीय समाजसेवी शंख कुमार श्रेष्ठ र उनकी धर्मपत्नी श्रीमती बिष्णु कुमारी श्रेष्ठले आफन्नो ८४ औं पून्य पूजाको अवसर पारेर दिवा खाना, पानी साथै चिया सौजन्य गरेका थिए ।