काठमाडौं । नागरिक आन्दोलनका अगुवा तथा पूर्वस्वास्थ्यमन्त्री डा. मथुराप्रसाद श्रेष्ठको ८९ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ । कोभिड संक्रमित भएपछि उनको छातीमा समस्या देखिँदै आएको थियो ।
केहीदिनदेखि श्वासप्रश्वासको समस्या बल्झिएपछि उनी काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा उनको निधन भएको अस्पातलका न्युरोसर्जन डा. बसन्त पन्तले पुष्टि गरे ।
मेडिकल काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीका अनुसार श्रेष्ठको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । परिवारका सदस्यहरू विदेशमा रहेकाले उनीहरू आएपछि मात्रै श्रेष्ठको अन्येष्टिको प्रक्रिया थालिने उनले जानकारी दिए ।






