काठमाडौं- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि लागेको एउटा आरोप गलत सावित भएको बताएका छन् ।
सोमबार राजधानीमा आयोजित आन्तरिक प्रशिक्षण तथा भेलामा प्रचण्डले नायिका करिश्मा मानन्धरलाई मन पराउने भनेर आफूमाथि लगाइएको आरोप गलत सावित भएको बताएका हुन् ।
‘मेरो बारेमा एउटा आयो क्या, मैले करिश्मालाई मन पाउँछ भन्ने आएको थियो, सुन्नुभाछ ? त्यो साँचो थिएन फेरि । कसैले त्यसै हाल्दिएछ, आयो आएकोआएई भयो । मिडियामा एकचोटी आएपछि आएकोआएई हुँदोरहेछ । होइन भन्दा पनि नपत्याउनी ! अहिले त सबैले देखे नि बाबुरामकै रचन् त भन्ने कुरा,’ प्रचण्डले भने, ‘ठट्टा-ठट्टा जस्तो पनि, तर गहिरो मर्म छ यसमा ।’
प्रचण्डले यसो भन्दैगर्दा हलमा हाँसोको फोहोरा छुटेको थियो । तर, उनले त्यो गहिरो मर्म के हो भन्ने कुरा खुलाएनन् ।
अधिकांश समय बाबुरामको आलोचना र खिस्सीमा बिताएका प्रचण्डले पार्टी छोडेर बाबुरामले गम्भीर गल्ति गरेको टिप्पणी गरे । जिन्दगीभर मार्क्सवादी बनेर बुढेशकालमा छोड्ने भट्टराईको कदम गलत भएको प्रचण्डको भनाई थियो ।
भट्टराईले मार्क्सवाद छोड्नु सैद्धान्तिक तथा दार्शनिक हिसाबले भट्टराईको ठूलो गल्ति भएको भन्दै उनले एकदिन गल्ति स्वीकार्दै पार्टीमा फर्किने विश्वास व्यक्त गरे । ‘यो त जिन्दगीभर साथ दिने श्रीमती बुढेशकालमा छोडेकोजस्तो भयो, यो सैद्धान्तिक तथा दार्शनिक हिसाबले उहाँको ठूलो गल्ति हो,’ प्रचण्डले भने, ‘त्यसमाथि पनि नाकाबन्दी लागेको बेला छाडेर हिँड्नु राष्ट्रप्रतिको द्रोह हो ।’
पीएचडी गरेकाहरु अझै कतिले जागरिसमेत नपाएको प्रसंग उल्लेख गर्दै प्रचण्डले बाबुरामको यो हाईट पीएचडीले नभएर माओवादी आन्दोलनबाट प्राप्त भएको जिकिर गरे ।
पहिलो संविधानसभाको कुरा गर्दा आँखाभरी आँसु बनाएर निकै भावुक बनेका प्रचण्डले पार्टीलाई सबैभन्दा ठूलो दल नबनाएसम्म राष्ट्रपति नबन्ने बताए । वैद्य, विप्लवहरुसँग पार्टी एकताको पहल भइरहेको जानकारी पनि उनले दिए ।






