नयाँदिल्ली- भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाल सरकारले गठन गरेको राजनीतिक संयन्त्रबाट वार्ता र संवादका आधारमा मधेसी दलका माग र सङ्घीयताको सीमाङ्कनसम्बन्धी समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भ्रमणका क्रमम आज नयाँदिल्लीको भारतीय विश्व मामिला परिषद्मा आयोजित २१ औँ सप्रु प्रवचन कार्यक्रममा उहाँले नेपालको नयाँ संविधानलाई स्वागत गर्दै जनताको जायज मागका आधारमा समावेशी र समानुपातिकका सवालमा संशोधनप्रति आभार व्यक्त गर्नुभयो ।
विदेशमन्त्री स्वराजले गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा संविधानसभामा व्यक्त ऋषिमनका साथ सर्वसमावेशी संविधान बनाउन र युद्धबाट बुद्ध तथा शस्त्रबाट शास्त्रको बाटोमा नेपाल ल्याउन गर्नुभएको आव्हान नेपालीको घरघरमा गुञ्जिएको उल्लेख गर्दै संविधान बनाउन नेपालले देखाएको परिपक्वताको स्वागत र बधाई दिनुभयो ।
उहाँले १७ वर्षदेखि हुन नसकेको भारतीय पक्षको नेपालमा उच्चस्तरीय भ्रमणलाई प्रममोदीको भ्रमणले तोडेको र पछिल्ला दिनमा आपसी भ्रमण र संवाद बढेकामा खुशी समेत व्यक्त गर्नुभयो ।






