सिड्नी । तमु समाज सिड्नीले तमु ल्होछार पर्व भव्य रुपमा मनाएको छ । समाजले सांस्कृतिक पर्व तमु ल्होछारको अवसरमा यही जनवरी ७ तारिख माराना अडोटेरियममा बेलुकी ५ बजे पुजाआजा सहित सुरु भएको थियो ।
बेलुकी ५ः३० बजेदेखि पुरातन परम्परा र रितिरिवाज अनुसार पुजाआजा प्रसाद ग्रहण लगायतको कार्यक्रम गरिएको थियो । भने बेलुकी साढे छ बजेबाट सुरु भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी राजदुताबास क्यानबेराका तृतीय सचिव यादव कोईरालालाई तमु समाज सिड्नीका अध्यक्ष युवराज गुरुङले खादा लगाईदिई कार्यक्रमको सुरुवात भएको थियो ।
त्यतपश्चात विशेष अतिथिहरु, सञ्चारकर्मी, पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो । प्रमुख अतिथि कोईरालले राजदूताबास विभिन्न कार्यक्रम गर्न सदैव तत्पर रहेको बताए । उनले नेपाली सघंसंस्थाले गर्ने यस्ता कार्यक्रममा आफु सहभागी हुन पाउँदा खुसी लागेको भन्दै कार्यक्रमलाई सहयोग गर्न तयार रहेको बताए ।
एनआरएनए अध्यक्ष नन्द गुरुङ ले आफुले पनि सुरुवात देखि नै यस संस्थामा रहेर विभिन्न कार्यहरु गर्दै आईरहेको भन्दै गुरुङ भाषा, संस्कृति र रितिरिवाज संरक्षणका लागि संस्थाले विभिन्न गतिबिधिहरु सञ्चालन गरिरहेको बताए ।
एनआरएनए उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङले दुई पटक सम्म संस्थामा आफु अध्यक्ष रहेर काम गरेको भन्दै तमु समाजलाई आफु बाहिर रहेर पनि सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रम प्रायोजनकर्ताको तर्फबाट लेख गुरुङले आफुले तमु समाजको कार्यक्रमलाई सहयोग गर्न पाउदा खुसी लागेको भन्दै गुरुङ संस्कृतीलाई बचाई राख्न कार्यक्रम निकै महत्वपूर्ण रहेको धारणा व्यक्त गरे । उनले नयाँ पुस्ताका गुरुङ समुदायलाई पनि पुस्तानान्तरण गरेर अगाडी बढ्न लागिरहने बताए ।
संस्थाका अध्यक्ष युवराज गुरुङले तमु समाजले १९८६ बाट निकै नै सह्रानीय कार्यहरु गरिरहेको बताए । उनले सबै साथीहरुको सल्लाह र सुझाव तथा सहयोगले संस्थाले आफ्ना गतिबिधिहरु गर्न सहज भएको बताए ।
सो अवसरमा गुरुङ संस्कृतिका विभिन्न नृत्यहरु कौडा, सालैजो तमू संस्कार, संस्कृति र परम्परा झल्किने बृहत सांस्कृतिक कार्यक्रमको साथमा स्योकै (रात्री भोज),शुभकामना आदानप्रदान साथै अस्ट्रेलियामा रहेका चर्चित नेपाली कलाकारहरुको बेजोड प्रस्तुति, डिजे धमाका सहित अन्य विभिन्न रमाईलो कार्यक्रम भव्य रुपमा सम्पन्न भएका थिए ।
कार्यक्रममा नेपाली साहित्य तथा कला प्रतिष्ठानकी अध्यक्ष सुजाता बस्नेत केसी, निम्फाका अध्यक्ष सुदर्शन थापा मगर, तामाङ सोसाईटीका अध्यक्ष सुनदोर्जे तामाङ, थारु सोसाईटी सिड्नीका अध्यक्ष दिपनारायण चौधरी, पोखरा समाजका अध्यक्ष तारा गुरुङ, डिलाईट ट्राभल्सका आशिषजगं थापा,मल्टिडायनामिक रियलस्टेट ईगंलबर्नका प्रिन्सिपल विष्णु प्रभात सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
हरेक वर्ष अस्ट्रेलियामा तमु समाज सिड्नीले ल्होछार भब्यताका साथ मनाउदै आएको छ । कार्यक्रममा विभिन्न सघंसंस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न समुहका प्रनिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव अर्जुन गुरुङले गरेका थिए ।







